नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस परिवर्तनको पक्षधर भएको बताएका छन् । सोमबार उदयपुर सदरमुकाम गाईघाटमा आयोजित चुनावी सभामा शर्माले इतिहासका विभिन्न खालखण्डमा परिवर्तनका खातिर लड्दै आएको भन्दै कांग्रेस सँधै परिवर्तनलाई आत्मसात गर्ने पार्टी भएको दावी गरे ।
०७ सालको राणाविरोधी आन्दोलनमार्फत १ सय ४ वर्षे पारिवारिक शासन अन्त्य गर्ने पार्टी कांग्रेस भएको भन्दै उनले ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्ध पनि कांग्रेसकै नेृतत्वमा आन्दोलन गरेर बहुदल ल्याएको बताए । ०४६ सालको पञ्चायतविरोधी आन्दोलनदेखि ०६२/०६३ को जनआन्दोलनसम्म कांग्रेसकै मुख्य भूमिका रहेको शर्माको दावी थियो ।
‘नेपाली कांग्रेस ००७ सालको जहानीया राणाशासनविरुद्ध क्रान्ति गरेको पार्टी हो’ शर्माले भने ‘३० वर्षे पञ्चायतविरद्ध आन्दोलन गरेर बहुदल ल्याउने र ०६२/६३ को जनआन्दोलनमार्फत देशमा गणतन्त्र र संघीयता ल्याउनुमा पनि कांग्रेसको मुख्य भूमिका छ ।’
देशको राज्य व्यवस्था पटकपटक परिवर्तन गर्न नेपाली कांग्रेसले इतिहासदेखि बर्तमानसम्म महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराउँदै उपसभापति शर्माले भविष्यमा पनि कांग्रेस जनताकै पक्षमा लागिरहने प्रतिबद्धता जनाए । कांग्रेसले आफ्नै पार्टीभित्र हुने अन्याय र अत्याचारविरुद्धसमेत बिद्रोह गर्दै विधि र पद्धतिबाट चल्नुपर्छ भन्ने उदाहरण देखाउने पार्टी भएको कुरा विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेर प्रमाणित गरेको शर्माले बताए ।
भदौ २३ गतेको जेनजेड पुस्ता आन्दोलनको आवाज सुन्ने पार्टी पनि कांग्रेस नै भएको भन्दै उनले युवा पुस्ताको माग र अपेक्षा पुरा गर्न पनि कांग्रेस लागि परिरहेको बताए । पछिल्लो पुस्ताको आन्दोलनले उठाएका मागहरु संबोधन गर्न पार्टी गम्भीरतापूर्वक लागी परेको बताउँदै उनले उनीहरुको भावना, सोँच र चाहना बमोजिम पार्टीलाई रुपान्तरण गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘कांग्रेस हिजोको नभएर आजको बद्लिएको पार्टी हो, त्यसैले अवको कांग्रेसले जेड पुस्ताको आन्दोलने उठाएका माग र अपेक्षाको संबोधन गर्नेछ’ उपसभापति शर्माले भने ‘त्यसका लागि हामी गम्भीर भएर योजना निर्माणमा लागेका छौँ । हामीले बिद्रोही पुस्ताको आवाज सुन्नेछौँ र त्यही अनुसार योजना बनाएर अघि बढ्नेछौँ ।’
पार्टीलाई समय सापेक्ष रुपान्तरण गर्दै अघि बढ्ने वाचा गर्दै शर्माले यो चुनावमा परिवर्तनको पक्षमा मतदान गर्न जनतालाई आग्रह गरे । जनता परिवर्तन चाहने र त्यही चाहना अनुसार कांग्रेस अघि बढिरहेको बताउँदै शर्माले जनताबाट स्पष्ट बहुमतको अपेक्षा गरेको दोहोर्याए ।
जनताको बहुमत प्राप्त भएमा कांग्रेस रुपान्तरण भएर जनअपेक्षा अनुसार देश हाँक्ने गरि नयाँ नेतृत्व आएको उनको भनाई थियो । तर, त्यसका लागि कांग्रेसबाट उम्मेदवार भएका नेताहरुलाई भोट दिएर जिताउन शर्माले आग्रह गरे ‘तपाईहरु हाम्रा उम्मेद्वालाई जिताउनुहोस्, हामी देशमा शान्ति, स्थायीत्व, विकास र समृद्धि दिनेछौँ ।’
प्रकाशित: १८ फाल्गुन २०८२ २०:३१ सोमबार





