१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यपूर्वमा तनाव: १३० भन्दा बढी सहरमा आक्रमण, इरानमा ५५५ जनाको मृत्यु

अमेरिका र खाडी देशले संयुक्त विज्ञप्ति निकाल्दै भने- इरानको कदम “खतरनाक उक्साहट”

अमेरिका र उसका सहयोगी खाडी राष्ट्रहरूले इरानको क्षेत्रीय गतिविधिलाई “खतरनाक उक्साहट” भन्दै कडा चेतावनी दिएका छन्। संयुक्त विज्ञप्तिमा इरानका पछिल्ला आक्रमणहरूले मध्यपूर्वको स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरिएको छ। यो संयुक्त वक्तव्य कुवेत, साउदी अरेबिया, बहराइन, कतार, जोर्डन, यूएई र अमेरिकाले संयुक्त रूपमा जारी गरेका हुन्। 

वक्तव्यमा भनिएको छ, “सर्वसाधारण र गैर–लडाकु राष्ट्रहरूलाई निशाना बनाउनु गैरजिम्मेवार व्यवहार हो, जसले क्षेत्रीय स्थायित्वलाई कमजोर बनाउँछ।” साथै उनीहरूले “आत्मरक्षाको अधिकार पुनः पुष्टि” गरेको जनाएका छन्।

यसैबीच, इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका र इजरायलले १३० भन्दा बढी सहरमा गरेको आक्रमणपछि इरानमा ५५५ जनाको मृत्यु भएको छ। आइतबार इरानी मिसाइल आक्रमणमा इजरायलको बेत शेमेश शहरमा नौ जनाको ज्यान गएको पुष्टि भएको छ।

कुवेतमा अमेरिकी एफ–१५ विमान दुर्घटना

यसैबीच, अमेरिकी केन्द्रीय कमान्डले “अपरेशन एपिक फ्युरी” अन्तर्गत इरानविरुद्ध उडानमा रहेका तीन वटा एफ–१५ लडाकु विमान कुवेतमाथि खसेको पुष्टि गरेको छ। प्रारम्भिक विवरणअनुसार यो घटना सम्भावित “फ्रेन्ड्ली फायर” (आफ्नै पक्षको आक्रमण) का कारण भएको हुन सक्ने जनाइएको छ। 

दुर्घटनामा रहेका सबै छ जना चालकदल सदस्य सुरक्षित रूपमा बाहिर निस्किएका र उद्धार गरिएको जानकारी दिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

क्षेत्रीय आक्रमण विस्तार

संयुक्त वक्तव्यअनुसार इरानी आक्रमणहरू इराक (कुर्दिस्तान क्षेत्र सहित), बहराइन, जोर्डन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र  यूएईमा भएका छन्। बहराइन र दुबईमा विस्फोटको आवाज सुनिएको तथा साउदी अरेबियामा एक तेल प्रशोधन केन्द्रमा आगलागी भएको खबर छ।

तेहरानमा इजरायली थप आक्रमण

इजरायली सेनाले इरानको राजधानी तेहरानमा “थप व्यापक आक्रमण” सुरु गरेको जनाएको छ। उसले “इरानी आतङ्कवादी शासनका लक्ष्यहरू” मा प्रहार भइरहेको दाबी गरेको छ।  

यसअघि सोमबार बिहानै इजरायलले लेबनानमा हिज्बुल्लाहको लक्ष्यमा हवाई आक्रमण सुरु गरेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुत र दक्षिणी क्षेत्रमा भएका आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु र १४९ जना घाइते भएका छन्। 

साइप्रसमा पनि तनाव

साइप्रसस्थित बेलायती सैन्य अड्डामा मध्यरातपछि सम्भावित ड्रोन आक्रमण भएको बताइएको छ। बेलायती रक्षा मन्त्रालयले सावधानीस्वरूप त्यहाँ बसोबास गर्ने परिवार सदस्यहरूलाई वैकल्पिक आवासमा सारिएको जनाएको छ। 

मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र पारस्परिक आक्रमणका कारण स्थिति झन् जटिल बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले तत्काल तनाव घटाउने कूटनीतिक पहल आवश्यक रहेको बताइरहेका छन्।

प्रकाशित: १८ फाल्गुन २०८२ १७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App