स्थानीय तह निर्वाचनको पहिलो चरणमा करिब ५० लाख मतदाताले आफ्नो मताधिकार उत्साहपूर्वक प्रयोग गरेका छन् । प्रदेश नं. ३, ४ र ६ मा बिहान ७ देखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७१ प्रतिशत मत खसेको छ । यो मतमार्फत व्यक्त सर्वसाधारणको उत्साहबाट लोकतन्त्रप्रतिको उत्कट अभिलाषासमेत प्रकट भएको छ । दुई दशकको प्रतीक्षापछि भएको यो निर्वाचनमा सर्वसाधारणले देखाएको उत्साहले लोकतन्त्र निकै चाँडो परिपक्व हुने संकेत पनि गरेको छ । जुन मुलुकका नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति सजग हुन्छन्, तिनले लोकतन्त्रलाई पनि बलियो बनाएर लैजाने हैसियत राख्छन् । राजधानी काठमाडौंका मात्र होइन, दुर्गमभन्दा दुर्गम स्थानका मतदाताले समेत आफ्नो कर्तव्यबोध गरेको देखिएको छ । कतिपय मतदाता त दुईतीन दिन टाढाको आफ्नो गाउँबाट समेत मतदान केन्द्रमा एक दिनअघि नै पुगेका उदाहरण पनि छन् । वृद्ध, शारीरिक रूपमा अशक्त, सीमान्त सबैखाले नागरिकको उपस्थितिले लोकतन्त्रको एउटा उत्सवका रूपमा मतदानलाई लिएको देखिएको छ ।समृद्ध र लामो लोकतान्त्रिक अभ्यास भएका कतिपय मुलुकमा समेत मतदाता उदासीन देखिएको पाइन्छ । तर, हामीकहाँ भने मतदाताले जस्तोसुकै अवस्थामा पनि आफूलाई तत्पर राखेको देखिएको छ । जेठको महिना पहाडी जिल्लामा मकै गोडमेल गर्ने बेला हो । तर, त्यसलाई पर्वाह नगरी उनीहरू मतदान गर्न सक्रिय भएको देखिएको छ ।