२१ आश्विन २०८१ सोमबार
image/svg+xml
विचार

उत्साही मतदाता

स्थानीय तह निर्वाचनको पहिलो चरणमा करिब ५० लाख मतदाताले आफ्नो मताधिकार उत्साहपूर्वक प्रयोग गरेका छन् । प्रदेश नं. ३, ४ र ६ मा बिहान ७ देखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७१ प्रतिशत मत खसेको छ ।  यो मतमार्फत व्यक्त सर्वसाधारणको उत्साहबाट लोकतन्त्रप्रतिको उत्कट अभिलाषासमेत प्रकट भएको छ । दुई दशकको प्रतीक्षापछि भएको यो निर्वाचनमा सर्वसाधारणले देखाएको उत्साहले लोकतन्त्र निकै चाँडो परिपक्व हुने संकेत पनि गरेको छ । जुन मुलुकका नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति सजग हुन्छन्, तिनले लोकतन्त्रलाई पनि बलियो बनाएर लैजाने हैसियत राख्छन् । राजधानी काठमाडौंका मात्र होइन, दुर्गमभन्दा दुर्गम स्थानका मतदाताले समेत आफ्नो कर्तव्यबोध गरेको देखिएको छ । कतिपय मतदाता त दुईतीन दिन टाढाको आफ्नो गाउँबाट समेत मतदान केन्द्रमा एक दिनअघि नै पुगेका उदाहरण पनि छन् । वृद्ध, शारीरिक रूपमा अशक्त, सीमान्त सबैखाले नागरिकको उपस्थितिले लोकतन्त्रको एउटा उत्सवका रूपमा मतदानलाई लिएको देखिएको छ ।समृद्ध र लामो लोकतान्त्रिक अभ्यास भएका कतिपय मुलुकमा समेत मतदाता उदासीन देखिएको पाइन्छ । तर, हामीकहाँ भने मतदाताले जस्तोसुकै अवस्थामा पनि आफूलाई तत्पर राखेको देखिएको छ । जेठको महिना पहाडी जिल्लामा मकै गोडमेल गर्ने बेला हो । तर, त्यसलाई पर्वाह नगरी उनीहरू मतदान गर्न सक्रिय भएको देखिएको छ । 

यसपटकको निर्वाचन धेरै अर्थमा महत्वपूर्ण छ । स्थानीय तहमा महिलाको उल्लेख्य प्रतिनिधित्वका लागि संविधान र कानुनले नै व्यवस्था गरेका छन् । एक दलितसहित दुई महिलाको अनिवार्य प्रतिनिधित्वका साथै प्रमुख वा उपप्रमुखमा एकजना महिला उम्मेदवार हुनैपर्ने प्रावधानले यो निर्वाचनलाई विशेष महŒवको तुल्याएको छ । महिला उम्मेदवारको वृद्धिसँगै महिला मतदाताको उपस्थिति पनि उल्लेख्य देखिएको  छ । मतदान गर्ने पंक्तिमा महिलाको उत्साहपूर्ण र जागरुक उपस्थितिले हाम्रो लोकतन्त्रलाई समावेशी बनाउँदै लैजाने देखिएको छ । ३९ प्रतिशत महिला उम्मेदवार रहेकामा मत परिणाम आउँदा पक्कै पनि तिनको उपस्थिति उल्लेख्य हुनेछ । स्थानीय निकाय निर्वाचन भनेको आफ्नै गाउँठाउँको विकासका निम्ति पनि हो । त्यसमा पनि यसपटक स्थानीय सरकारको अवधारणा यो निर्वाचनमार्फत वास्तविकतामा अनुदित हुँदैछ । आफन्त, नातेदार, छिमेकीमा देखिएका योग्य उम्मेदवारलाई आफ्नो स्थानीय सरकारको जिम्मेवारी दिने यो एउटा अवसर हो । त्यसलाई मतदाताले उत्साहपूर्वक सदुपयोग गरेको देखिएको छ । निर्वाचनमा भाग लिनु भनेको एउटा विशेष पर्व मनाएजस्तो स्वरूप देखिएको छ । केही स्थानमा छिटपुट घटना भए पनि समग्रमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सर्वसाधारणले देखाएको उदात्त भावना प्रमुखरूपमा जिम्मेवार छ । शान्त र सुन्दररूपमा निर्वाचन सम्पन्न हुनु भनेको हामी बिस्तारै निर्वाचनबाटै जनप्रतिनिधि निर्वाचित गरी भविष्य सुनिश्चित गर्ने दिशातर्फ जान लागेको संकेत पनि हो । २०४६ सालको जनआन्दोलनको सफलतापछि सम्पन्न तीन संसदीय निर्वाचन र दुई स्थानीय निर्वाचनले नागरिक जीवनमा अमिट छाप छाडेका छन् । दुई संविधानसभा निर्वाचनका क्रममा पनि आममतदाताको उत्कृष्ट सहभागिता थियो । त्यति बेलाको असजिलो अवस्थामा समेत मतदाताले साहसपूर्वक व्यवस्थापिका–संसद्का निम्ति प्रतिनिधि चयन गरेर लोकतन्त्रको जग बलियो बनाएका थिए । 

आममतदाताको उत्साहपूर्ण सहभागिताले राजनीतिक नेतृत्वले भन्दा बढ्ता बुद्धिमत्ता प्रकट गरेको छ । मतदाताले राम्रा उम्मेदवारलाई छानीछानी मतदान गरेको प्रस्ट संकेत गरेका छन् । यसपटकको निर्वाचनमा तल्लो स्तरको गालीगलौज पनि सुनिएन । पहिलेजस्तो पर्चा र पम्प्लेटले सहर विरूप पारेको पनि देखिएन । मतदाताले देखाएको सालीन व्यवहारले गर्दा सबैलाई शान्त र सौम्य बन्न कर लागेको देखिएको छ । लोकतन्त्र बलियो हुन सचेत नागरिकको उपस्थिति आवश्यक हुन्छ । प्रत्येक पटकका निर्वाचनमा आमनागरिकले देखाएको सचेत उपस्थितिलाई समेत दलहरूले ध्यानमा राखेर आगामी दिनमा काम गर्नुपर्ने देखिन्छ । आममतदाताको जिम्मेवारी एक दिन मतदान गरेरमात्र सकिँदैन । अब निर्वाचित जनप्रतिनिधिले गरेको काममा पनि ध्यानपूर्वक हेर्नुपर्छ । तिनले ठीक ढंगले काम गर्न सकेनन् र अधिकारको दुरुपयोग गरे भने अर्को पटकको निर्वाचनमा फेरि सजाय गर्न पनि तत्पर हुनुपर्छ । त्यतिमात्र होइन, आफ्ना जनप्रतिनिधिप्रति सजग भने हुनैपर्छ । अहिलेको स्थानीय तहको हातमा धैरै ठूलो अधिकार छ । त्यतिमात्र होइन, साधनस्रोत परिचालन गर्ने र स्थानीय स्तरमा न्यायिक अधिकारसमेत रहेका छन् । तिनले गर्ने प्रत्येक काम ठीक÷बेठीक के छन् भन्ने ध्यान सर्वसाधारणले पुर्याउन सक्नुपर्छ । अन्यथा, तिनले आफूलाई निर्वाचित तानाशाह सम्झन सक्छन् । निर्वाचित भए पनि तिमीमाथि हाम्रो नियन्त्रण रहिरहन्छ भन्ने जानकारी भने आममतदाताको व्यवहारले अहिले निर्वाचित प्रतिनिधिलाई गराइरहनुपर्छ । यो उत्साह रहिरहोस् । यसैले समृद्ध नेपालको मार्ग प्रशस्त गर्नेछ । 

प्रकाशित: १ जेष्ठ २०७४ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App