६ आश्विन २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

भरतपुर १९ मा उत्साहपूर्ण मतदान (फोटो फिचर)

चितवन-  मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण भरतपुर महानगरपालिकाको वडा नं. १९ मा अढाइ महिना नहुँदै आज साउन २० गते दोस्रो पटक मतदान भइरहेको छ। रोपाइमा व्यस्त भएका दृश्यहरु पनि नदेखिने हैन तर मतदानमा उत्साहजनक सहभागिता जुटेको छ। भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार दुई बजेसम्म लगभग ७० प्रतिशतको हाराहारीमा मत खसेको छ ।

पाका मतदाताहरु पनि सहयोगीसहित मतदानमा सरिक छन् । यो वडाको नतिजा भरतपुरको मेयर निर्धारण गर्न महत्वपुर्ण हुने छ । चुनाव वडाको भए पनि मेयरमा सत्तारुढ गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाल वा एमालेका देविप्रसाद ज्ञवालीमध्ये कस्को पल्ला भारी हुन्छ भन्ने चासो धेरैको छ ।

                भरतपुरमा बिहानै पानी परेको थियो । तर नौ बजेपछि पानी रोकिएसँगै मतदाताहरु मतदानमा जुटेका थिए । वडा नं. १९ मा तीनवटा मतदान स्थल छन् । वडामा कुल तीन हजार ७९७ मतदाना छन्। यसअघि पहिलो चरणको निर्वाचन अनुसार भरतपुरमा बैशाख ३१ गते मतदान भएको थियो। सो बेला भरतपुर १९ मा दुई हजार ८९७ मत खसेको थियो ।

भरतपुरमा मेयरमा एमालेका उम्मेद्वार देविप्रसाद ज्ञवाली अगाडी छन् । जितको सम्भावना कायम राख्न गठबन्धनकी उम्मेद्वार रेणु दाहाललाई आजको मतदानमा काँग्रेस पक्षधर सवै मतदाताहरुले मत हाल्न आवश्यक हुन्छ ।

                तालमेल भए पनि रेणु दाहालाई काँग्रेस पक्षधर धेरैले मत नहालेको अवस्था थियो । वडा नं. १९ मा यसअघि भएको मतदानमा पनि त्यो अवस्था देखिएको थियो । त्यस्तो अवस्था नदोहरियोस भन्नका लागि दोस्रो पटक मतदान हुँने भएपछि माओवादी र काँग्रेसका जिल्ला स्तरका नेताहरुले कार्यक्रम र योजना बनाएर संयुक्त अभियान चलाए । केन्द्रका नेताहरु पनि अभियानमा सरिक भए ।

                मतगणना चली रहँदा जेठ १४ गते मध्यरातमा भरतपुर १९ का मतपत्रहरु च्यातिएका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी केन्द्रका गणना प्रतिनिधि भएर बसेका द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई समाएको थियो । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा चलेको छ ।

                मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । एमालेले तत्काल मतगणना गर्न माग गरेको थियो भने गठबन्धन पक्षधर माओवादी र काँग्रेसले वडा नं. १९ मा फेरि चुनाव गराउन माग गरेका थिए। निर्वाचन आयोगले पनि मतदानकै निर्णय गर्‍यो। सो नियर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। अदालतले गएको आइतबार निर्वाचन आयोगकै निर्णय सदर गरेपछि अढाइ महिनापछि दोहर्‍याएर चुनाव हुन थालेको हो ।

               

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App