लरेन हेम्पले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार महिला सुपर लिग (डब्लुएसएल) मा आर्सनललाई ४-२ ले हराएको छ। दुई पटक पछि परेको सिटीले शानदार पुनरागमन गर्दै सिजनको सुरुवाती पाँचै खेल जितेको हो।
आर्सनलले ४३औँ मिनेटमा लिसा बाउमको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा हेम्पले कठिन कोणबाट गोल गर्दै सिटीलाई बराबरीमा फर्काइन्।
दोस्रो हाफ सुरु भएको चार मिनेटमै एलेसिया रुसोले गोल गर्दै आर्सनललाई फेरि अग्रता दिलाइन्। तर ६३औँ मिनेटमा केर्स्टिन कास्पारिजले गोल गर्दै सिटीलाई पुनः बराबरीमा ल्याइन्।
त्यसको नौ मिनेटपछि हेम्पले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई खेलमा पहिलो पटक अग्रता दिलाइन्। ८४औँ मिनेटमा बन्नी शले सिजनको आफ्नो पाँचौँ गोल गरेपछि सिटीले ४-२ को जित पक्का गर्यो।
यो हारसँगै आर्सनलले सिजनको सुरुवाती पाँच खेलमा केवल पाँच अंक जोडेको छ। गत साता चेल्सीसँग १-० ले पराजित भएको आर्सनलले लगातार दोस्रो हार बेहोरेको हो। आर्सनल तालिकाको १०औँ स्थानमा छ।
सिटी भने पाँच खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा कायम छ। चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले हराउँदै १३ अंकसहित दोस्रो स्थानमा रहेको छ। लन्डन सिटी लायोनेसेसले टोटनह्याम हटस्परलाई ६-१ ले पराजित गर्दै १२ अंकसहित तेस्रो स्थानमा पुगेको छ।
चार्लटन एथलेटिक ब्राइटन एन्ड होभ एल्बियनसँग ५-१ ले पराजित हुँदै तालिकाको पुछारमा छ। एभर्टनले बर्मिंघम सिटीलाई २-१ ले हराउँदै नौ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ। एजेन्सी
प्रकाशित: १९ आश्विन २०८३ ०८:४३ सोमबार





