१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनमा युवाको निर्णायक भूमिका सुनिश्चित गर्न अन्सारीको आग्रह

जेनजी अभियन्ता माजिद अन्सारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवाको सहभागिता उत्साहजनक रहेको भन्दै युवा प्रतिनिधिलाई पार्टीको नीति, कार्यक्रम र नेतृत्व निर्माणमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। 

आइतबारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट युवा प्रतिनिधिको सहभागिता बढेको उल्लेख गर्दै अन्सारीले युवाको भूमिका मतदानमा मात्र सीमित नराखी पार्टीको आगामी नीति तथा कार्यक्रम तय गर्ने बहसमा प्रभावकारी बनाउन आग्रह गरेका हुन्। 

जेनजी आन्दोलनले उठाएको युवाको निर्णायक सहभागिताको मागलाई कांग्रेसले महाधिवेशन प्रतिनिधित्वमार्फत सम्बोधन गर्न खोज्नु स्वागतयोग्य रहेको उनको भनाइ छ। युवा प्रतिनिधिले केन्द्रीय समितिमा समेत आफ्नो निर्णायक भूमिका सुनिश्चित गर्न इमान्दार प्रयास गर्नुपर्ने उनले बताएका छन्। 

अन्सारीले महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति, संगठन सुधार तथा समावेशी प्रतिनिधित्वबारे केन्द्रित हुनुपर्ने बताएका छन्। २००७ सालको क्रान्ति र २०४७ सालको जनआन्दोलनपछि कांग्रेसभित्र विकसित आन्तरिक लोकतन्त्रको बहसलाई थप जीवन्त बनाउनुपर्ने उनको धारणा छ। 

कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुने, महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने तथा केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बनाउने व्यवस्था गरिएको छ। 

यसैगरी ‘ल्याटरल इन्ट्री’मार्फत विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई नेतृत्वमा ल्याउने, विदेशस्थित जनसम्पर्क समितिबाट छ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने तथा अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, श्रमिक, सहिद परिवार र द्वन्द्वपीडितलगायतको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। 

महाधिवेशनमा ‘कांग्रेस २.०’ र ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ जस्ता नारामार्फत पार्टीको नयाँ राजनीतिक दिशा र पुस्तान्तरणको बहसलाई अघि बढाउने तयारी गरिएको छ। 

प्रकाशित: १८ आश्विन २०८३ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App