१८ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्य

दुबई भ्रमण भिसा : परिवार वा साथीलाई ‘स्पोन्सर’ गर्दा कति तलब चाहिन्छ ?

के तपाईं दुबईमा परिवारका सदस्य वा साथीलाई भ्रमणका लागि बोलाउने सोचमा हुनुहुन्छ ?

यदि हुनुहुन्छ भने भिसा प्रक्रियाअघि आफ्नो मासिक तलब तोकिएको सीमाभन्दा माथि छ कि छैन भन्ने जान्न आवश्यक हुन्छ।

दुबईको रेसिडेन्सी तथा विदेशी मामिला महानिर्देशनालयले स्पोन्सरका लागि सम्बन्धअनुसार फरक-फरक न्यूनतम तलब तोकेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) का बासिन्दाले दुबईमा ३०, ६० वा ९० दिनका लागि मान्य एकल प्रवेश (एक पटक प्रवेश गर्ने) वा बहु प्रवेश (पटक-पटक प्रवेश गर्ने) भ्रमण भिसामा परिवारका सदस्य वा साथीलाई स्पोन्सर गर्न सक्छन्। आवेदन दिनुअघि योग्यता, आम्दानी, आवश्यक कागजात र शुल्कबारे जानकारी लिनुपर्छ।

गल्फ न्युजका अनुसार प्रथम श्रेणीका आफन्तलाई स्पोन्सर गर्ने बासिन्दाको मासिक तलब कम्तीमा चार हजार दिराम हुनुपर्छ। प्रथम श्रेणीका आफन्तमा आमाबुवा, पति वा पत्नी र छोराछोरी पर्छन्। नजिकका परिवारका सदस्यका लागि यो सबैभन्दा कम तलब सीमा हो।

दोस्रो वा तेस्रो श्रेणीका आफन्तलाई स्पोन्सर गर्न मासिक तलब कम्तीमा आठ हजार दिराम हुनुपर्छ। यसमा दाजुभाइ, दिदीबहिनी, हजुरबुबा-हजुरआमा, नातिनातिना, काका, काकी र काकाका छोराछोरी पर्छन्। सम्बन्ध टाढिँदै जाँदा स्पोन्सर र भ्रमणमा आउने व्यक्तिबिचको पारिवारिक सम्बन्ध फराकिलो हुने भएकाले तलबको सीमा पनि बढाइएको छ।

साथीलाई भ्रमण भिसामा स्पोन्सर गर्नेको मासिक तलब कम्तीमा १५ हजार दिराम हुनुपर्छ। यो दुबईको हालको स्पोन्सर नियमअनुसार सबैभन्दा उच्च तलब सीमा हो र स्पोन्सरसँग पारिवारिक सम्बन्ध नभएका व्यक्तिका लागि लागू हुन्छ।

तलबको मापदण्ड पूरा गर्नुका साथै स्पोन्सरसँग युएईको वैध आवास भिसा र मान्य एमिरेट्स परिचयपत्र हुनुपर्छ। माग गरिएमा आम्दानीको प्रमाण पनि दिनुपर्छ। आम्दानी प्रमाणित गर्न तलब प्रमाणपत्र, प्रमाणित श्रम सम्झौता वा व्यवसायीका लागि साझेदारी तथा कम्पनी स्वामित्वसम्बन्धी कागजात पेश गर्न सकिन्छ।

परिवारका सदस्यलाई स्पोन्सर गर्दा सम्बन्ध प्रमाणित गर्ने कागजात पनि आवश्यक हुन्छ। यसका लागि जन्म प्रमाणपत्र वा विवाह प्रमाणपत्र पेश गर्न सकिन्छ। आवेदन दिनुअघि यस्ता कागजात प्रमाणित गराउनुपर्छ।

स्पोन्सरले भ्रमणमा आउने व्यक्तिको राहदानीको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट आकारको फोटो, बसोबासको प्रमाण, फिर्ती उडान टिकट र लागू भएमा बसाइ अवधिलाई समेट्ने स्वास्थ्य बिमा पनि पेश गर्नुपर्ने हुन सक्छ।

एकल प्रवेश भ्रमण भिसाको शुल्क ३० दिनका लागि २०० दिराम, ६० दिनका लागि ३०० दिराम र ९० दिनका लागि ४०० दिरामबाट सुरु हुन्छ। यससँगै फिर्ता हुने एक हजार दिरामको आर्थिक सुरक्षा धरौटी पनि लाग्छ। भ्याट, स्वास्थ्य बिमा, सेवा शुल्क र फिर्ता हुने सुरक्षा धरौटीका कारण थप खर्च लाग्न सक्छ।

आवेदन दुबईको रेसिडेन्सी तथा विदेशी मामिला महानिर्देशनालयको अनलाइन प्रणाली र स्मार्ट एपबाट २४ घण्टा दिन सकिन्छ। अधिकृत आमेर केन्द्रबाट भने तोकिएको कार्यालय समयमा आवेदन दिन सकिन्छ।

प्रकाशित: १८ आश्विन २०८३ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App