जेनजी अभियन्ता मिराज ढुङ्गानाले राजनीतिक शक्ति निर्माणका लागि ‘थर्ड पोल’ निर्माणको तयारी भइरहेको बताएका छन्। उनले ‘थर्ड पोल’ तत्काल गठन हुने कुनै संकीर्ण राजनीतिक दल नभई देशको समस्या र आवश्यकतामाथि आधारित राजनीतिक विचार र शक्ति निर्माणको अवधारणा भएको बताएका हुन्।
शनिबार आफ्नो आधिकारिक फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै ढुङ्गानाले ५०० जना मानिस एक ठाउँमा भेला गरेर नयाँ दल दर्ता गर्न सकिने भए पनि त्यसले मात्र राजनीतिक निकास सम्भव नहुने बताए।
नयाँ दल खोल्नुको उद्देश्य केवल राजनीतिक अभ्यास वा शक्ति आर्जन गर्नु नभई देशले भोगिरहेको राजनीतिक, आर्थिक र सामाजिक समस्याको समाधान दिन सक्ने विचार र शक्ति निर्माण गर्नु रहेको उनको भनाइ छ।
‘थर्ड पोल भनेको एउटा संकीर्ण दल मात्र होइन, एउटा विचार हो,’ उनले भनेका छन्।
ढुङ्गानाले विगतमा नयाँ खुलेका दलहरूबाट पनि अपेक्षित राजनीतिक निकास आउन नसकेको र ३५ वर्षदेखि देश बिग्रिएको भन्ने तर्क गर्नेहरूले केही दिनमै मिलेर दल गठन वा सरकार निर्माण गर्दैमा समस्या समाधान नहुने बताएका छन्।
उनले देशको समस्या समाधानका लागि राज्य सञ्चालनको क्षमता, बौद्धिकता र समन्वय भएको व्यापक टिम आवश्यक रहेको बताए। पाँच–छ जना व्यक्ति सक्षम हुँदैमा मात्रै देश सञ्चालन गर्न नसकिने भन्दै उनले लाखौँ मानिसको सहभागिता र संस्थागत संयन्त्र आवश्यक पर्ने धारणा राखे।
ढुङ्गानाले ‘थर्ड पोल’ निर्माणका लागि देशको अन्तरविरोध, समस्या र वस्तुस्थितिलाई समग्र रूपमा बुझ्ने टिम निर्माण गर्नुपर्ने र त्यसका लागि देशव्यापी रूपमा लामो र घनिभूत छलफल आवश्यक रहेको बताएका छन्।
उनले विचारविनाको दल राजनीतिक हतियार बन्न नसक्ने भन्दै ‘थर्ड पोल’ अहिलेका लागि राजनीतिक विचारका रूपमा रहेको र उपयुक्त समय आएपछि राजनीतिक दलको स्वरूप लिन सक्ने बताए।
‘थर्ड पोल आजको भोलि गठन हुने कुरा होइन। यसको लागि लामो छलफल आवश्यक छ,’ उनले भनेका छन्।
प्रकाशित: १८ आश्विन २०८३ ११:३९ आइतबार





