नेपालको भाषिक, जातीय तथा सांस्कृतिक विविधतालाई सिर्जनात्मक अभिव्यक्तिमार्फत उजागर गर्ने उद्देश्यले काठमाडौँको टेकुस्थित ऐतिहासिक लक्ष्मीश्वर मन्दिर परिसरमा ‘मातृभाषा कवि गोष्ठी २०८३’ भएको छ।
वर्तमान कविता समूहको आयोजना तथा रातो घर फाउन्डेसन र नेपाल लोकबाजा सङ्ग्रहालयको सहआयोजनामा भएकाे गोष्ठीमा नेपालका विभिन्न मातृभाषाका कविता वाचन गरिएको थियो।
मन्दिर परिसरमा फरकफरक भाषा, लवज, संस्कृति र जीवनानुभूतिका कविता गुञ्जिँदा कार्यक्रमले नेपालको बहुभाषिक पहिचानको जीवन्त चित्र प्रस्तुत गरेको थियो।
कार्यक्रममा नेपाल भाषा, खस भाषा, तामाङ, अवधी, नेपाली, केवरत, मैथिली तथा संस्कृत लगायत नौभन्दा बढी मातृभाषामा मौलिक कविता प्रस्तुत गरिएको थियो।
कार्यक्रमको सुरुआतमा वर्तमान कविता समूहका संस्थापक सदस्य कवि विश्व सिग्देलले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए। उनले मातृभाषा सञ्चारको माध्यम मात्र नभई समुदायको मौलिक ज्ञान, सभ्यता, स्मृति र अस्तित्वसँग जोडिएको आधार भएको बताए। उनले विभिन्न मातृभाषाको संरक्षण, प्रवर्द्धन र ती भाषामा सिर्जित साहित्यलाई राष्ट्रिय मूलधारमा ल्याउन यस्ता बहुभाषिक साहित्यिक गोष्ठीले सेतुको काम गर्ने बताए।
उनले नेपालमा बोलिने प्रत्येक मातृभाषाले आफ्नै इतिहास, जीवनदृष्टि र सांस्कृतिक स्मृति बोकेको उल्लेख गर्दै भाषिक विविधतालाई विभाजनको आधार नभई सहअस्तित्व र राष्ट्रिय एकताको शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थापित र नयाँ पुस्ताका ३८ कविले आफ्नै मातृभाषामा कविता वाचन गरेका थिए। राम विनय, जगत वाशिष्ठ, कुसु क्षेत्री, रहेना नकःर्मी मानन्धर, वैरागी जेठा, वसन्त नकःर्मी, सजना गोले, डा. अनिता श्रेष्ठ, शिव आचार्य, सुनिल पुरी, हंसा कुर्मी, रजनीमिलाले कविता वाचेका थिए।
त्यसैगरी लुमन्ती चित्रकार, ओम श्रेष्ठ, हेमन्ती केवरत, कृष्ण बाउसे, बालकृष्ण श्रेष्ठ, सुवास मिश्र, राधेश्याम महर्जन, चतुर्भुज केवरत, नरोत्तम श्रेष्ठ, लक्ष्मी माली, धीरकुमार श्रेष्ठ, रमी प्रिया, ईश्वर थोकर, अमरकुमार प्रधान, सावित्री श्रेष्ठ, रामप्रसाद कँडेल र नवराज रायमाझी लगायतले कविता वाचेका थिए।
विभिन्न भाषामा प्रस्तुत कविताले भाषिक विविधताको प्रदर्शन मात्रै नगरी प्रत्येक समुदायको आफ्नै जीवनदृष्टि, अनुभूति र सांस्कृतिक चेतनासमेत अभिव्यक्त गरेका थिए। एउटै मञ्चमा अनेक मातृभाषाका कविता सुन्न पाउनु नेपाली साहित्यमा बहुभाषिक अभ्यासलाई अझ सशक्त बनाउने महत्त्वपूर्ण प्रयास भएको सहभागी साहित्यकारहरूले बताएका थिए।
टेकुको ऐतिहासिक तथा सांस्कृतिक परिवेशमा आयोजना गरिएको कार्यक्रमले साहित्यलाई मन्दिर, संग्रहालय, संस्कृति र समुदायको जीवनसँग जोड्ने प्रयास समेत गरेको थियो।
कार्यक्रमका सञ्चालक तथा वर्तमान कविता समूहका संस्थापक सदस्य कवि चन्द्रबहादुर लामाले कविता शब्द र सौन्दर्यको अभिव्यक्ति मात्र नभई कुनै समुदायको भूगोल, इतिहास, संस्कृति र पहिचानको सजीव दस्तावेजसमेत भएको धारणा राखेका थिए। उनले कार्यक्रमलाई सहज र आत्मीय ढङ्गले सञ्चालन गरेका थिए।
कार्यक्रमको समापनमा रातो घर फाउन्डेसनका तर्फबाट कवि स्नेह सायमीले धन्यवाद ज्ञापन गरेका थिए। उनले फरकफरक भाषा, भूगोल र संस्कृतिका स्रष्टाहरूलाई एउटै थलोमा ल्याउने यस्ता कार्यक्रमले मातृभाषा साहित्यको संरक्षण, प्रवर्द्धन र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
आयोजकका अनुसार आगामी दिनमा पनि मातृभाषा, संस्कृति, पर्यावरण, मानवता, पहिचान तथा समसामयिक सामाजिक विषयलाई केन्द्रमा राखेर साहित्यिक गतिविधिलाई निरन्तरता दिइनेछ।
बहुभाषिक नेपालमा प्रत्येक भाषा सञ्चारको माध्यम मात्र नभई समुदायको स्मृति, ज्ञान, संस्कृति र जीवनदृष्टिको वाहक भएकाले टेकुमा सम्पन्न मातृभाषा कवि गोष्ठीले विभिन्न भाषाका आवाज एउटै साहित्यिक मञ्चमा जोड्दै नेपालको बहुरङ्गी भाषिक पहिचान सशक्त रूपमा प्रस्तुत गरेको छ।
प्रकाशित: १८ आश्विन २०८३ ११:२१ आइतबार





