१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

‘हामी काम गर्न चुक्यौं, नागरिकले कुर्सीका लागि दौडिएको मात्र देखे‘

नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक दलहरू जनअपेक्षा अनुसार काम गर्न चुकेको र नागरिकले नेताहरूलाई प्रधानमन्त्रीको कुर्सीका लागि मात्र दौडिएको देखेको भन्दै आत्मालोचना गरेका छन्।

आइतबार कांग्रेसको १५औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सत्ताको यस्तै खिचातानीका कारण समाजमा राजनीतिप्रति चरम वितृष्णा र अति-राजनीतीकरण मौलाएको बताए।

संविधान निर्माणपछिको अवधिमा दलहरूको ध्यान जनताका समस्या समाधान गर्नुभन्दा सत्ता प्राप्तिमा मात्र केन्द्रित भएको उनले स्वीकार गरे।

‘हामी काम गर्न चुक्यौं, यसलाई मान्नुपर्छ। नागरिकले हामीलाई प्रधानमन्त्रीको कुर्सीका लागि दौडिरहेको मात्र देखे,’ सभापति थापाले भने, ‘अस्तिसम्म झगडा गर्नेसँग प्रधानमन्त्री बन्न मिलेको र भोलिपल्ट फेरि त्यही कुर्सीका लागि झगडा गरेको देखे। मानौं वा नमानौं, यो सबै म्युजिकल चेयर जस्तै भयो।’

दलहरूको यही सत्तालिप्साका कारण समाजमा दुई वटा घातक प्रवृत्ति जन्मिएको उनले उल्लेख गरे। पहिलो, राजनीति, नेता र संस्थाप्रति चरम वितृष्णा र दोस्रो, चियापसलदेखि सामाजिक सञ्जालसम्म जताततै राजनीति नै राजनीति हुने अवस्था।

‘नागरिकले राजनीतिप्रति घृणा गर्दागर्दै पनि समाजका हरेक कुरामा अति-राजनीतीकरण भइरहेको छ, एन्टी पोलिटिक्सले नै नागरिकलाई हाइपर पोलिटिक्सतर्फ धकेलेको हो,’ उनले भने।

पार्टीको इतिहास गौरवशाली भए पनि विगतको गाथा गाएर मात्र पार्टी अघि बढ्न नसक्ने उनले प्रस्ट पारे। २००७, २०४६, २०६२/६३ का आन्दोलन र संविधान निर्माणका बेला तत्कालीन प्रश्नहरूको सही उत्तर दिएकाले कांग्रेस टिकेको स्मरण गर्दै उनले भने, ‘इतिहासले शक्ति दिँदैन, शिक्षा दिन्छ। हिजोको प्रश्नको उत्तर दिएर अब कांग्रेस टिक्दैन, आजको प्रश्नको उत्तर दिनुपर्छ।’

सभापति थापाले आजका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिक, किसान, उद्यमी र सीमान्तकृत समुदायका वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्ने बताए।

‘१८ वर्षको युवाले नेपालमै गुणस्तरीय शिक्षा र रोजगारी पाउँछ कि पाउँदैन, खाडीमा पसिना बगाउनेले बिरामी पर्दा घरखेत गुमाउनु पर्छ कि पर्दैन, किसानले मल र बजार पाउँछ कि पाउँदैन र छोरीहरू सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने आजका मुख्य प्रश्न हुन्,’ उनले भने, ‘चार पर्खालभित्र बसेर होइन, यी ज्वलन्त प्रश्नहरूको इमानदार उत्तर दिएर मात्र कांग्रेस फेरि जनताको भरोसा बन्न सक्छ।’

प्रकाशित: १८ आश्विन २०८३ १८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App