मन्दिरको उत्पत्तिसँग जोडिएको ‘भेडा’को बथान ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आइपुगेपछि सोमबार बिहान मन्दिरको परिक्रममा गराई पूजापाठ गरी छाडिएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार लेकबाट उधोँ झरेको भेडाको बथान मन्दिर क्षेत्रमा आएपछि मन्दिरको परिक्रमा पश्चात् पूजाअर्चनाको मुख्य द्वारमा प्रवेश गराई विधिपूर्वक पूजापाठ गरी छाडिएको हो।
पाथीभरा देवीको उत्पत्तिसम्बन्धी थुप्रै किम्वदन्ती तथा जनश्रुतिहरू छन्। किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।
त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिई आफ्नो उत्पत्तिस्थल र आकृतिको बोध गराउँदै भेडा बलिसहित पूजाअर्चनाका लागि निर्देशन गरेको जनश्रुति छ।
आत्मबोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजाअर्चना गरी भेडाको थुम्बा बलि दिए। बलि दिएपछि हराएका भेडाहरू जस्ताको तस्तै पहिलेकै ठाउँमा देखा परेको जनश्रुति छ।
देवस्थल उत्पत्तिको यही किम्वदन्तीका आधारमा मन्दिर क्षेत्रमा आइपुगेको भेडाको बथानलाई विधिपूर्वक पूजाअर्चना गरी पठाइएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी महतले बताए।
प्रकाशित: १९ आश्विन २०८३ १२:४८ सोमबार





