भोटेकोसी बाढीलगायतका अन्य प्राकृतिक विपद्को मुख्य जड जलवायु परिवर्तनमा मात्रै सीमित नरहेको भन्दै एक कार्यक्रमका सहभागीहरूले पुँजीवादी व्यवस्था नै यसको मुख्य कारक भएको आरोप लगाएका छन्। पुँजीवादी व्यवस्था नाफामा मात्रै केन्द्रित हुने र समाजप्रतिको उत्तरदायित्वको बेवास्ता गर्ने भएकाले यो व्यवस्थाले वातावरणीय संकट समाधान गर्न नसक्ने उनीहरूले ठोकुवा गरे।
प्राध्यापक समाज नेपाल केन्द्रीय समितिको आयोजनामा आइतबार भक्तपुरमा भएको ‘वातावरणः संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ता राजनीतिज्ञ तथा प्राध्यापकहरूले वातावरण विनाशको मुख्य देश नै पुँजीवादी व्यवस्थाका देशहरू रहेको आरोप लगाए।
प्रमुख वक्ता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसारमा वातावरण विनाश गरी विपद् निम्त्याउने मुख्य देश नै संयुक्त राज्य अमेरिका भएको आरोप लगाए। वातावरणीय संकट समाधानका लागि जलवायु परिवर्तनका प्रभावबारे चर्चा गरेर मात्र नपुग्ने भन्दै उनले वातावरण विनाशको मूल कारण पहिचान गरी उत्पादन, विकास र शासन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले वातावरण संरक्षणलाई विकास, राजनीति, अर्थतन्त्र र मानव व्यवहारसँग जोडेर हेर्नुपर्ने बताए।
उनले देशमा व्याप्त कमिसनखोरीले वातावरण संरक्षण तथा देश विकासका कामसमेत प्रभावित भएको बताए। उनले विगतका विभिन्न सरकारका मन्त्रीहरूले विकाससम्बन्धी काम अघि बढाउँदा कमिसन खोज्ने गरेको प्रसंग सुनाउँदै कमिसनको संस्कारले देशलाई पछाडि पारेको धारणा राखे।
विदेशमा लामो समय बसेर आएका एक वैज्ञानिक इन्जिनियरले माटोको सट्टा चुनढुंगाबाट इँटा बनाउन सकिने वातावरणमैत्री प्रविधिबारे आफूलाई जानकारी गराएको स्मरण गर्दै उनले उक्त प्रविधि नेपालमा लागू गर्न आफूले सम्बन्धित मन्त्रीकहाँ पठाउँदा कामको उपयोगिताभन्दा आफूले कति कमिसन पाउने भन्ने प्रश्न गरिएको सम्झे। अर्को सरकारका पालामा पनि सोही प्रस्ताव लिएर मन्त्रीकहाँ पठाउँदा उस्तै प्रश्नको सामना गर्नुपरेको बताउँदै बिजुक्छेँले देशका लागि केही योगदान गर्न चाहने ती वैज्ञानिक इन्जिनियर कमिसनको संस्कारबाट निराश बनेको उल्लेख गरे। पछि ती इन्जिनियरले आत्महत्या गरी मृत्युवरण गरेको प्रसंगसमेत उनले सुनाए।
कार्यक्रममा भूगर्भविद् डा. सुवेगमान बिजुक्छेँले वातावरणीय संकटलाई वैज्ञानिक र भौगर्भिक दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए। प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, भू–उपयोगमा देखिएको अव्यवस्था तथा वातावरणीय प्रभावलाई बेवास्ता गर्दै गरिने विकासले भविष्यमा थप संकट निम्त्याउन सक्ने उनको भनाइ थियो।
त्यस्तै, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर सुनिल दुवालले वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गर्न इन्जिनियरिङ तथा प्राविधिक क्षेत्रमा समेत नयाँ सोच आवश्यक रहेको बताए। वातावरणमैत्री प्रविधिको प्रयोग, प्राकृतिक स्रोतको उचित व्यवस्थापन र दिगो पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।
वक्ताहरूले वातावरणीय समस्या केवल जलवायु परिवर्तनको विषय नभई मानव सिर्जित विकासको ढाँचा, प्राकृतिक स्रोतको दोहन, प्रदूषण, अव्यवस्थित सहरीकरण र गलत नीतिसँग समेत सम्बन्धित रहेको उल्लेख गरे। त्यसैले वातावरणीय संकटको दीर्घकालीन समाधानका लागि नीतिगत, राजनीतिक, आर्थिक र प्राविधिक क्षेत्रमा सुधार आवश्यक रहेको उनीहरूको जोड थियो।
प्रकाशित: १८ आश्विन २०८३ १८:५६ आइतबार





