१९ आश्विन २०८३ सोमबार
image/svg+xml
अर्थ

दसैंमा उपत्यका छाड्ने १० लाखभन्दा बढी

फाइल तस्वीर

आगामी असोज २५ गते घटस्थापनाबाट सुरु हुने दसैंमा काठमाडौं उपत्यकाबाट सार्वजनिक यातायातमार्फत १० लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढीपहिरोबाट क्षतिग्रस्त सडक, टिकटको कालोबजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।

समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा तयार गरिएको प्रतिवेदन अनुसार दसैं–तिहार र छठलगायतका चाडपर्वका समयमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या १० देखि १५ लाखसम्म पुग्न सक्नेछ। यात्रुको माग धान्न न्यूनतम ४३ हजार ५७४ देखि अधिकतम ६५ हजार ३६१ ट्रिप सार्वजनिक सवारी साधन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाह र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बुझाइसकिएको छ।

प्रतिवेदनले घटस्थापनादेखि नवमीसम्म यात्रुको चाप अत्यधिक हुने देखाएको छ। असोज १९ देखि २४ गतेसम्म यात्रुको संख्या क्रमशः बढ्ने र घटस्थापनापछि पनि मध्यचाडपर्वसम्म चाप कायम रहने अनुमान गरिएको छ। घटस्थापनाका दिन मात्रै ४५ हजार ५३१ देखि ६८ हजार २९६ यात्रु उपत्यकाबाट बाहिरिन सक्ने अनुमान छ।

फूलपाती अर्थात् असोज ३१ गते सबैभन्दा बढी ७५ हजार ५२२ देखि एक लाख १३ हजार २८३ यात्रु बाहिरिने अनुमान गरिएको छ। त्यस दिन यात्रुको माग धान्न चार हजार ९११ देखि सात हजार ३६७ सार्वजनिक सवारीसाधन आवश्यक पर्नेछ। अष्टमीका दिन कात्तिक १ गते ६७ हजार २४३ देखि एक लाख ८६४ तथा नवमीका दिन कात्तिक २ गते ५० हजार ३११ देखि ७५ हजार ४६६ यात्रु बाहिरिने अनुमान समितिको छ।

कुल सवारी मागमध्ये ठूला बसको हिस्सा ४८ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसका लागि न्यूनतम २० हजार ९१६ देखि अधिकतम ३१ हजार ३७३ ठूला बस आवश्यक पर्नेछ। माइक्रोबसको हिस्सा ४३ प्रतिशत र मिनी बसको नौ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ।

दसैंका लागि सरकारले औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुलाउने मिति अझै तय गरेको छैन। दुर्गम तथा यातायातको पहुँच कम भएका गन्तव्यमा टिकट बुकिङ नखुलेका कारण यात्रु अन्योलमा छन्। पोखरा, चितवन र भैरहवा लगायत सहज गन्तव्यका लागि भने केही यातायात कम्पनीले अनलाइन टिकट बिक्री गरिरहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दसैंको यात्रालाई सहज र सुरक्षित बनाउन सरकारी निकायसँग नियमित छलफल भइरहेको बताए। दसैंका लागि औपचारिक रूपमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा महासंघले अहिलेसम्म निर्णय नगरेको उनले बताए। उनका अनुसार केही दिनपछिका लागि भने टिकट बिक्री भइरहेको छ।

यता अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दै लामो दूरीका अधिकांश टिकट बिक्री भइसकेको भन्दै यात्रुबाट बढी भाडा असुली हुन थालेको गुनासो आएको छ। कोटेश्वर, गौशाला र कलंकीलगायतका टिकट काउन्टरमा दसैंका लागि लामो दूरीका अधिकांश टिकट बुक भइसकेको बताइएको छ। केही काउन्टरले सरकारले तोकेको भाडादरभन्दा पाँच सयदेखि एक हजार रुपैयाँसम्म बढी रकम लिएर टिकट उपलब्ध गराउने गरेको यात्रुको गुनासो छ।

बाढीपहिरोका कारण सडकको अवस्था थप जोखिमपूर्ण बनेको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढी तथा असोजको अविरल वर्षाका कारण धादिङ, नुवाकोट, रसुवालगायतका जिल्लाका सडक तथा पुलमा क्षति पुगेको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने विभिन्न नाकामा सडक क्षतिग्रस्त भएकाले चाडपर्वको यात्रामा थप जोखिम बढेको छ।

समितिको अनलाइन सर्वेक्षणअनुसार दसैंमा ३९ प्रतिशत यात्रुले डिलक्स, एसी तथा पर्यटक बस प्रयोग गर्ने बताएका छन्। २८ प्रतिशतले ठूला साधारण बस, २० प्रतिशतले माइक्रोबस वा हाइस तथा १३ प्रतिशतले मोटरसाइकल वा निजी सवारीसाधन प्रयोग गर्ने बताएका छन्। सर्वेक्षणमा सहभागी अधिकांश जागिरे, विद्यार्थी तथा तिनका परिवार रहेको समितिले जनाएको छ।

सवारी चापका दृष्टिले भक्तपुर, नागढुंगा, फर्पिङ, भीमढुंगा, साँखु, टोखा र तीनपिप्लेलगायतका नाकाबाट यात्रुको चाप बढी हुने अनुमान गरिएको छ। ललितपुरको भट्टेडाँडा–चापागाउँ तथा थानकोट–चित्लाङ सडकखण्डबाट समेत केही सवारीसाधन बाहिरिने प्रतिवेदनमा उल्लेख छ।

 

प्रकाशित: १९ आश्विन २०८३ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App