१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

गगनलाई अमरेशको जवाफ : पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारलाई दिएपछि नेता बाहिरिन बाध्य भए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले आफू नेता रहेको पूर्वपार्टी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई जवाफ फर्काएका छन्।

सभापति थापाले हिजो (आइतबार)देखि सुरु भएको कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा रास्वपालाई चुनावमा भोट मात्रै नभएर प्रशिक्षित नेताहरू पनि दिएको सुनाएका थिए।

थापाको उक्त भनाइमा कांग्रेस छाडेर स्वतन्त्र हुँदै रास्वपामा गएका सिंहले कांग्रेस त्यतिकै नछोडेको जवाफ फर्काएका हुन्। उनले पुराना दलका पार्टी छाडेर जाने नेताहरू त्यसै नबाहिरिएको बताए।

'नयाँ पार्टीका सभापति ज्यु, यत्तिकै पार्टी छोडेर गएका होइनन्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।'

सिंहले लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्ने नेतृत्वले त्यही पार्टीलाई अहिलेको अवस्थामा पुर्‍याउने जिम्मेवारी पनि लिनुपर्ने बताए। 'नाक फुलाएर लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो- त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्‍याउने जिम्मेवारी कसको हो?' उनले प्रश्न गरेका छन्।

उनले इतिहासको गौरव गाएर मात्र नहुने भन्दै वर्तमान अवस्थाको जिम्मेवारीसमेत लिनुपर्ने भनाइ राखे।

सिंहले लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने तर त्यही पार्टीको जग आफैँ भत्काउने अवस्था विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

'इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ,' सिंहले भनेका छन्, '‘लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने- योभन्दा ठूलो विडम्बना अरू के होला?'

प्रकाशित: १९ आश्विन २०८३ ०८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App