१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

वर्षाले केरा खेतीमा पुर्‍याएको क्षतिबारे जानकारी लिन कृषकसँग मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र तथा विभिन्न कृषि उत्पादन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव लिएकी छन्।

मन्त्री चौधरीले असोज १५ देखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन्। अनुगमनका क्रममा उनले कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषि सडक, बिमा तथा बजारीकरणको अवस्थाबारे जानकारी लिएकी छन्।

कृषकसँग प्रत्यक्ष छलफल गरी स्थानीयस्तरका समस्या पहिचान गर्ने कामसमेत भइरहेको छ। यसैक्रममा मन्त्री चौधरीले रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न कृषि क्षेत्रको निरीक्षण गरिन्। उनले मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिइन्।

उनले सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ को करिब ५० बिघा क्षेत्रफलमा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको निरीक्षण गरिन्।

असोज ८ देखि ११ गतेसम्म आएको हावाहुरी तथा वर्षाले केरा खेतीमा पुर्‍याएको क्षतिबारे समेत उनले कृषकसँग जानकारी लिइन्। कृषकले उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या रहेको तथा कृषि बीमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरे।

कृषकले कृषि विद्युतीकरण विस्तार तथा कृषि सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिन आग्रह गरेका थिए। मन्त्री चौधरीले कृषकका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि आवश्यक पहल गर्ने बताइन्।

उनले कृषि क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह, कृषक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

प्रकाशित: १९ आश्विन २०८३ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App