नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत मंगलबार साँझको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा रोकिएको हो।
कर्णालीलाई रोक्ने क्रममा पोखराका बलरहरू धनञ्जय लक्षण र रिषी धवनले तीन–तीन विकेट लिए। किरन ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलको नाममा एक–एक विकेट रह्यो।
कर्णालीका तर्फबाट ब्याटिङमा ओपनर मार्क वाटले ५९ रनको योगदान दिनुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्। उनीपछि नजिबुल्लाह जद्रानले २४ रन, पवन सर्राफले १९ रन, प्रियांक पञ्चालले १६ रन, कप्तान सोमपाल कामीले १३ रनको योगदान दिए।
त्यसअघि खेलको सुरुवातमा कर्णालीले टस जितेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले ओपनर ब्याटर एडम रोसिंगटनले शतकको मद्दतले कर्णाली याक्सलाई २०२ रनको विशाल चुनौती दिएको थियो।
खेलमा रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको मद्दतले १०८ रनको योगदान दिए। उनीसँगै ओपनिङमा आएका कप्तान कुशल भुर्तेल १७ बलमा १८ रनमा आउट भएका थिए।
त्यसपछि क्रिजमा आएका जेसन रोय र रोसिंगटनबिच १२७ रनको शतकीय साझेदारी भएको थियो। पछि रोय अर्धशतक बनाउनबाट चुके। उनले ३४ बलमा २ चौका र ३ छक्काको मद्दतले ४६ रन बनाए।
त्यसपछि क्रिजमा आएका धनञ्जय लक्षणले पनि ११ बलमा बलमा आक्रामक पारी खेल्दै २३ रन बताए।
कर्णालीका तर्फबाट नन्दन यादव र मार्क वाटले मात्रै एक–एक विकेट प्राप्त गरे।
पोखराका लागि यो दोस्रो जित हो। उसको पाँच खेल खेल्दा तीन हार ब्यहोरेको छ। अंक तालिकामा उसको ४ अंक भएको छ। उसले दुई खेल अझै खेल्न बाँकी छ।
उता ६ खेलमा ५ मा हार ब्यहोरेको कर्णाली भने प्लेअफको रेसबाट बाहिरिएको छ।
प्रकाशित: १६ मंसिर २०८२ १९:३२ मंगलबार





