२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

प्रोटेस्टको दुबिधाबीच दुर्गालाई स्वर्ण

कर्णालीका दुर्गाबहादुर बुढा पढ्नका लागि भनेर सिन्जा लुमबाट जुम्लाको खलङ्गा बजार झरेका थिए। उनको गाउँबाट बजार आइपुग्न एक दिन नै लाग्छ। १५ वर्षको उमेरमा उनी बजार झरेका हुन्। बुबाले दोस्रो बिहे गरेकाले उनकी आमाले उनलाई संघर्ष गराउँदै पढाइरहेकी थिइन्।  

बजारमा बसेर पढ्ने क्रममा उनको विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायासँग भेट भयो। पछि उनी हरिबहादुरकै घरमा बस्न थाले र उनको शिष्य पनि भए। त्यहाँदेखि उनको यात्रा नेपालको एथलेटिक्स खेलतर्पm भयो। उनै दुर्गाबहादुर अहिले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चर्चाका विषय बनेका छन्। अहिले मात्र होइन, वि.सं. २०७६ सालको आठौं संस्करणमा पनि उनको सहभागितालाई लिएर विभागीय टोलीले विवाद सिर्जना गरेका थिए। दुर्गाबहादुर भारतीय सेनामा छन्, त्यहीँबाट उनले भारतको प्रतिनिधित्व गर्दै एसियन च्याम्पियनसिपसमेत खेले।

त्यो खेल हो, सन् २०१७ को। जहाँ उनले तीन हजार मिटरको स्टिपल चेजमा भारतीय खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका थिए। दुर्गाबहादुर अहिले भारतीय सेनामा रहेको र उनले भारतबाट एसियन च्याम्पियनसिप खेलेको भन्दै नवौंमा सहभागी तीनवटा विभागीय टोलीले आइतबार उनीविरुद्ध प्रोटेस्ट दर्ता गराए। अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको सूचीमा पनि उनी भारतीय खेलाडी रहेको दर्ता छ। तथापि, आठौं संस्करण अगाडिदेखि नै उनी यो सूचीमा थिए। सोमबार बिहान उनको प्रतिस्पर्धा तीन हजार मिटर स्टिपल चेजमा थियो। अघिल्लो दिनकै प्रोटेस्टका कारण उनले खेल्ने या नखेल्न दुबिधा नै थियो।

प्रोटेस्ट परेपछि राष्ट्रिय खेलकुदको प्राविधिक उपसमितिले एथलेटिक्स संघसँग राय पनि माग्यो। तर, संघले राखेपको निर्णय मान्य हुने भनेपछि अन्ततः दुर्गाबहादुर ट्य्राकमा उत्रिए। सो विधामा उनी अब्बल साबित पनि भए। उनले नवौंमा कर्णालीका लागि पहिलो स्वर्ण पदक पनि जिते। उनले आफ्ना निकटम प्रतिस्पर्धी एपिएफका अजित यादवलाई धेरै पछाडि छोडे। दुर्गाले ८.५५ मिनेटमा उक्त दूरी पार गर्दा अजितले ९.२१ मिनेटको समय लगाए।  

आर्मीका सुवास कार्की तेस्रा भए। उनले दूरी पूरा गर्न ९.२२ मिनेट समय खर्चिए। उनीसँग नेपालकै नागरिकता छ र उनको परिवार पनि अहिले जुम्लामा नै छ। त्यसैले राष्ट्रिय खेलकुद खेल्नका लागि भारतबाट नेपाल आउने गरेका छन्, उनी। ‘जीवन धान्न भारतीय सेनाको जागिरे भएँ। त्यहाँ मेरो काम खेल्ने मात्र हो। त्यहाँ जागिरे हुँदैमा म नेपाली नहुने त होइन होला?,’ उनको प्रश्न थियो। हुन पनि राष्ट्रिय खेलकुदको निर्देशिकाले नेपाली नागरिक हुनेले राष्ट्रिय खेलकुद खेल्न पाउँछ भन्ने स्पष्ट गरेको छ।  

तर, उनले भारतबाटै प्रतिनिधित्व गरेकाले चाहिँ प्रश्न उठाउने केही ठाउँ रहन्छ। यद्यपि, भारतबाट खेलिसकेपछि उनले आठौंमा प्रतिस्पर्धा गरिसकेका छन्। उनी आपैmँ पनि भन्छन् ‘भारतबाट खेल्नु मेरो लागि गल्ती थियो। मैले भारतबाट खेलेँ र त्यो मेरो गल्ती हो। तर, नो अब्जेकसन सर्टिफिकेट(एनओसी) ल्याएपछि खेल्न पाउनुपर्ने हो। सबै देशमा यस्तो प्रचलन छ। त्यसै पनि भारतीय सेनामा रहेका नेपाली बक्सरले नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाएको उदाहरण कयौं छन्,’ दुर्गाबहादुरले भने, ‘अन्य प्रदेशबाट पनि भारतीय सेनामा रहेका खेलाडी खेलेका छन्। यसमाथि पनि एनआरएनए नै सहभागी छ।’ भारतीय सेनामा उनले एथलेटिक्स खेलेकै कारण जागिर पाएका हुन्। सन् २०११ मा माउन्ट एभरेस्ट खेल्न केही भारतीय सेनाका खेलाडी आएका थिए।

सो क्रममा उनको गुरुको चिनजान ती भारतीय सेनासँग भयो। दुःख र संघर्ष गर्दै आएका आफ्ना चेला दुर्गाबहादुरलाई पनि त्यहाँ जागिरको वातावरण मिलाइदिन रोकायाले आग्रह गरे। उनीहरूले केही सहयोग गरे र पछि दुर्गाबहादुर भारतीय सेनामा जागिरे पनि भए। त्यहाँबाट उनले प्रतिस्पर्धा गर्दै आएका छन्। कहिलेकाहीं नेपालको झन्डाबाट पनि अल्ट्रा म्याराथन खेल्न जान्छन्। तर, देशभित्र खेल्दा भने उनले समस्या भोग्नुपर्छ। अहिले मात्र होइन, पछिल्लो संस्करणको राष्ट्रिय खेलकुदमा पनि उनले यही हविगत भोग्नु प¥यो। तर, पनि उनले खेले र एक स्वर्ण, एक रजत पदक जिते।

‘मलाई हरेक पटक राष्ट्रिय खेलकुदमा खेल्ने समयमा मानसिक दबाब दिने काम हुन्छ। यस पटक त्यस्तै भयो। म खेल्दा स्वर्ण जित्न सकिन्नँ भन्ने मानसिकता छ, यसले उल्टै हामीलाई कमजोर बनाइरहेको हुन्छ,’ दुर्गाबहादुरले भने, ‘म नेपालबाट खेल्न चाहन्छु। त्यसका लागि वातावरण बनाइयोस् म जागिर छोड्न तयार छु।’ अहिले हरिबहादुर रोकाया कर्णालीका एथलेटिक्स प्रशिक्षक छन्। दुर्गाबहादुरलाई रोक्न खोज्नु पराजयको मानसिकता भएको हरिबहादुर बुझाइ छ। पाँचौं राष्ट्रिय खेलकुदमा नै कांस्य जितेपछि जुम्लाका दुर्गालाई ११औं दक्षिण एसियाली खेलकुदका नेपाली टोलीको छनोट क्याम्पमा बोलाइएको थियो। तर, बाटो खर्च र बस्ने आपैmंले व्यवस्थापन गर्नुपर्ने भयो।

त्यस कारण उनी क्याम्पमा सहभागी हुन पाएनन्। ‘मसँग पैसा थिएन। त्यहाँबाट सहभागी हुन आउने खर्च हामी दिन सक्दैनौं भनियो। त्यसैले मैले त्यो सागको तयारी छुटाएँ,’ दुर्गाले भने, ‘त्यो समयदेखि खेल्नका लागि पैसा पनि चाहिन्छ भन्ने लाग्यो र म भारतीय सेनामा पुगेँ।’ यद्यपि, दुर्गाबहादुरले नेपालमा प्रशिक्षक प्रशिक्षण लाइसेन्स एनआइएस गरेका छन्। एक दिन आफ्ना गुरुजस्तै खेलाडी उत्पादनमा सक्रिय हुने उनको लक्ष्य छ। नवौंमा उनले थप दुई विधामा प्रतिस्पर्धा गर्दै छन्। त्यसैले अहिले विरोध र आलोचनाको आवाज नसुनेर कर्णालीलाई थप स्वर्ण दिलाउनमा केन्द्रित रहने उनको भनाइ छ।

आर्मीको वर्चस्व

कर्णाली प्रदेशले एथलेटिक्समार्पmत पदकतालिकामा स्वर्णको खाता खोल्दा ट्य्राकको विधामा त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ।  

पोखरा रंगशालामा सोमबार बिहान भएका चार विधामध्ये तीन विधामा आर्मीले स्वर्ण पदक जितेको छ। एक सय १० मिटर हर्डल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पार गरे। नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा रजत र आर्मीकै रामप्रसाद थारूले १९ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जिते। सोही विधाको महिलामा आर्मीकी जयरानी थारुले स्वर्ण पदक जितिन्। उनले उक्त दूरी १५.६९ सेकेन्डमा पूरा गरिन्।

आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा रजत र एपिएफकी भगिरथीकुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते। डिस्कस थ्रोमा आर्मीकै चित्रबहादुर वलीले स्वर्ण जित्दा ३८.४८ मिटर पर फ्याँके। ३२.७५ मिटर फालेका नेपाल पुलिस क्लबका पुस्कल खड्का रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पाल ३१.१० मिटर फालेर कांस्य पदक जित्न सफल भए। महिलातर्पm लुम्बिनी प्रदेशकी संगीता अधिकारीले ३५.१० मिटर पर फ्याँक्दै स्वर्ण जितिन्। एपिएफकी जितकुमारी महतोले ३३.६० मिटरसहित रजत पदक जित्दा आर्मीकी मिलन बुढामगरले ३२.३५ मिटरसहित कांस्य जिते।

प्रकाशित: १ कार्तिक २०७९ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App