२७ पुस २०८२ आइतबार
image/svg+xml
खेल

विवाद, अपारदर्शिता र गतिविधिविहीन उसु

‘५/६ वर्ष भयो हामीले खेल संघबाट आयोजना हुने प्रतियोगिता खेल्न पाएका छैनौं। न त नियमित ग्रेडिङ नै भएका छन् न त हामी स्वस्फूर्त रूपमा अभ्यास गर्ने वातावरण नै छ,’ सागकी दुई स्वर्ण विजेता उसुकी निमा घर्तीमगरको गुनासा हुन् यी।

उनी १२औं र १३औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुई स्वर्ण विजेता हुन्। उनै निमा यतिबेला चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा व्यस्त छिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा निमा र उनका सहकर्मी प्रशिक्षणमा व्यस्त छन्। तर, उनी प्रशिक्षण गरिरहेको वातावरण फोहोर छ। कभर्ड हल भनिए पनि हावाहुरी, धुलो, पानी र कुहिएका सामग्री खेलस्थलमा छन्।

समग्रमा वातावरण फोहोर नै छ। उनको खेल संघमा पनि उस्तै फोहोरको डंगुर छ। सीधा भन्नुपर्दा विवाद, अपारदर्शिता र गतिविधिविहीन छ निमाको खेल निकाय नेपाल उसु महासंघ। उनीबाट उसुले मात्र होइन समग्र नेपाली खेलकुदले नै धेरै आशा राखेको छ।

तर, उसु महासंघको गैरजिम्मेवारीले गर्दा उनीसँगै कयौं आशा बोकेका खेलाडीको भविष्य नै अन्योलमा परेको छ। किनकि पछिल्ला सात–आठ वर्षयता नै उसु संघ विवादको घेरामा छ। सबैभन्दा ठूलो अपारदर्शी छ उसु नेतृत्व। सन् २०१९ मा साग खेलेयता नेपाली खेलाडीले कुनै पनि प्रतियोगिता खेल्न पाएका छैनन्।

न त उनीहरूलाई संघले कुनै प्रशिक्षणको व्यवस्था नै गरेको छ। ‘हामीले पछिल्लो पटक संघको आयोजनामा सन् २०१७ उसु च्याम्पियनसिप खेलेका थियौं। त्यसयता संघको आयोजनामा कुनै पनि प्रतियोगिता भएनन्। खेलाडी साथीले नै आयोजना गर्नुहुन्छ त्यसैमा सहभागी भएर पनि आफ्नो प्रतिभा जाच्ने अवसर पाएका छौं,’ दुई स्वर्ण विजेता निमाले भनिन्।

महासंघबाट पनि हामी काम गर्ने प्रयासमा छौं तर वातावरण सहज नभएकाले गर्न पाएनौं भन्ने जबाफ खेलाडीले पाउने गरेका छन्। ‘त्यो कस्तो वातावरण हो, हामी खेलाडीले बुझ्ने कुरै भएन,’ निमा भन्छिन्, ‘नियमित रूपमा अभ्यास, प्रतियोगिता र ग्रेडिङ होस् भन्ने मात्र हाम्रो चासो हुन्छ।’ वीरबहादुर तामाङको नेतृत्वको उसु महासंघले आफ्नो गतिविधि मात्र नगरेको होइन राज्यले किनिदिएका खेल सामग्रीको सुरक्षा पनि गरेन। १३औं साग नेपालमा आयोजना हुँदा राज्यले करोडौं पर्ने उसुका खेल सामग्री खरिद गरेको थियो। त्यति बेला उसुले करिब दुई करोड २० लाखभन्दा बढी सामग्री पाएको थियो।

सागपछि केही सामग्री राखेपस्थित सेमी कभर्डहलमै अलपत्र रह्यो। कभर्डहल भनिए पनि त्यहाँका संरचना खुला रहेकाले सबै सामग्री अवव्यस्थित रहे। सागमा खरिद गरिएका थाउलोको ५० लाख बराबर र सान्सौंको ४० लाख बराबरका म्याट महासंघकै लापारबाहीका कारण प्रयोगविहीन भइसकेका छन्। घाम र पानीले गर्दा म्याट कुहिएका छन्। राखेपले सबै संघलाई नै खेलसामग्री संरक्षण गर्ने जिम्मेवारी दिए पनि उसुले भने बेवास्ता गरिदिँदा कराडौंका सामग्री नस्ट भएका छन्।

‘हामीले पहिलो पटक त्यति धेरै सामग्री पाएका थियौं। तर, व्यवस्थापन हुन नसक्दा सबै म्याट कुहिएको छ। त्यहाँ अहिले च्याउ उम्रिएको देख्दा दुःख लाग्छ। अब यो सामग्री पाउन अर्को साग नै कुर्नुपर्ला। त्यसैले यसलाई जोगाउनु सबैको दायित्व थियो,’ निमाले भनिन्, ‘एसियाड आउन पाँच महिना बाँकी छ। महासंघले ध्यान दिएको छैन। तर, हामी स्वस्फूर्त रूपमा यही कुहिएका म्याट भएका ठाउँमा नै प्रशिक्षण गरिरहेका छौं।’ वर्तमान नेतृत्वले अन्तर्राष्ट्रिय स्तरमा पनि छवि बिगारेको छ। संघकै लापरबाहीका कारण वर्षौदेखि अन्तर्राष्ट्रिय उसु महासंघमा समेत नवीकरण हुन सकेको छैन। जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको बेइज्जत भएको छ।

विसं २०६७ साल यता संघका नाममा करोडौं बेरोजु छन्। ०६७ देखि २०७२ सालसम्म मात्र संघको नाममा एक करोड ९ लाख बेरुजु देखिन्छ। त्यस यता पनि संघले राखेपमा कुनै पनि आर्थिक अनुदान फर्स्यौट गरेको छैन र संघको नाममा अहिले पनि बेरुजु यथावत् नै छ। लामो समयदेखि संघले बैंकिङ प्रणालीमा कारोबार नै गरेको छैन। साथै महासंघले कयौं वर्षदेखि प्रशिक्षक, जज र अन्य खेलाडीका लागि प्रशिक्षणको व्यवस्थापन पनि गर्न सकिरहेको छैन। जसका कारण प्रशिक्षक र खेलाडीसमेत महासंघप्रति निकै रुष्ट छन्। महासंघका पूर्वउपाध्यक्षसमेत रहेका दीपक लामाले नियमित खर्च पछ्र्यौट नगर्नु र अन्तर्राष्ट्रिय स्तरमा नवीकरण नगर्नुले नेपालको उसु खेललाई अधोगतितर्फ धकेलिएको बताए।

‘नेतृत्वमा धेरै असक्षमता छन्। कयौं वर्षयता हामी आर्थिक रूपमा पारदर्शी हुन सकेनौं। संघबाट महासंघ भयौं, तर, हाम्रो गतिविधि भने शून्य भयो। सबै गैरजिम्मेवार भए,’ लामाले भने। उसुकै खेलाडी निकेस श्रेष्ठले महासंघले प्रतियोगिता आयोजना नगरेका समयमा आफैं अग्रसर भएर खेल आयोजना गर्दा समेत स्वीकृति नदिएको दुखेसो पोखे। ‘जुनियर राष्ट्रिय प्रतियोगिता गर्न महासंघसँग अनुमति मागेको थिएँ। तर, भ्याली च्याम्पियनसिपका लागि दिन्छौं भन्ने जबाफ आयो। पछि त्यो पनि पाएनौं,’ निकेशले भने, ‘आफू पनि सुतेर बस्ने खेलाडी नै अग्रसर हुँदा पनि रोक्ने प्रयासले गर्दा उसु निरुत्साहित बनाएको छ।’ नेपालमा उसु संघको विवाद हुन थालेको दशक हुन लागिसक्यो।

पटकपटक प्रयास भए पनि समाधान हुन नसक्दा एक समय दक्षिण एसियाकै पावर हाउस उसु खेलको भविष्य अन्योलतर्फ धकेलिएको छ। पछिल्ला समय संघकै पदाधिकारीले पुनर्गठन माग गर्दै राखेपमा आवाज उठाए पनि खेल निकायले अग्रसरता देखाइरहेको छैन। तत्कालीन राखेप सदस्यसचिव केशवकुमार विष्टले आफ्नै नेतृत्वमा विसं २०७५ मा उसु महासंघ गठन गर्ने प्रयास गरे। त्यससँगै खेलको विवाद समाधान हुने आशा गरिएको थियो, तर सोअनुरूप हुन सकेन।

त्यतिबेला बानेश्वरमा सम्पन्न भेलाबाट राखेपको प्रतिनिधिबिना नै संघबाट उसु महासंघमा परिणत भयो। विवाद बढेपछि विष्ट सो भेला नसकिँदै त्यहाँबाट हिँडेका थिए। तर, ०७६ सालमा भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा उम्मेदवार हुनका लागि विष्टले संघ प्रतिनिधि बन्ने सर्तमा वीरबहादुर तामाङलाई अध्यक्ष पद छाडे। तर, राखेपले तामाङ नेतृत्वको महासंघलाई स्वीकार गर्ने कुनै आधार नै नभएको जबाफ दियो। राखेपको कानुन शाखाले विवाद समाधान समितिलाई उसु महासंघ विघटन गर्दै वैकल्पिक बाटो खोल्न सुझाव दिएको छ।

नेपालको राष्ट्रिय खेल संघलाई चुस्त रूपमा अगाडि बढाउन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले विभिन्न सर्तहरू निर्धारण गरेको छ। तर पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। २०७७ मा नयाँ खेलकुद विकास ऐन जारी भएपछि स्वतः नेपालका राष्ट्रिय खेल संघ पनि सोहीअनुरूप परिधिमा बाँधिनुपर्ने हुन्। तर, राखेपको अस्थिरता र उदासीनताको फाइदा उठाउँदै संघले पदकका सम्भावना बोकेका खेलाडीको भविष्य नै अन्योलमा पारेको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App