८ माघ २०७८ शनिबार
खेल

हारको पाठबाट अघि बढ्ने लक्ष्य

‘यो मेरो सुरुआत हो अझै मैले आफूलाई प्रमाणित गर्न बाँकी छ। ओलम्पिकमा मेरो पदक जित्ने लक्ष्य जीवतै छ,’ टोकियो पारालम्पिकमा ऐतिहासिक जित निकालेपछि पारा तेक्वान्दोकी पलेशा गोवर्धन भन्छिन्।

गत शुक्रबार टोकियोस्थित माकुहारी मेसेमा के–४४ विधाअन्तर्गत ५८ केजीमुनि कांस्य पदकनजिक पुगेर स्तब्ध भएकी पलेशाले हारबाट पाठ सिकेर अगाडि बढ्ने लक्ष्य राखेकी छन्। तथापि, ओलम्पिकमा दुई खेल जित्ने उनी नेपालको पहिलो खेलाडी बनिन्। उनले नेपाली खेलकुद नयाँ इतिहास पनि रचिन्। उनको यस किसिमको प्रतिस्पर्धा सदैव यादगार नै बन्नेछ। खेल सकिन १० सेकेन्ड बाँकी छँदासम्म ९–९ स्कोर रहेको खेलमा उनी पराजित भएसँगै कांस्य पदकका लागि वञ्चित भइन्। जहाँ उनले विश्व नम्बर दुई चीनकी ली युजीसँग १२–९ को साँघुरो हार बेहोर्नुपर्‍यो।  

ली सन् २०१९ को टर्कीमा सम्पन्न विश्व च्याम्पियनसिपको च्याम्पियन पनि हुन्। लीलाई यस पारालम्पिकमा स्वर्ण दाबेदार पनि मानिएको थियो। उनी सेमिफाइनलमा पुगेर पराजित भएपछि पलेशासँग कांस्यका लागि प्रतिस्पर्धा तय भएको हो। तर, कांस्य प्रतिस्पर्धामा पनि पलेशाले उनलाई निकै चुनौती दिइन्। पहिलो राउन्डमा नै उनलाई पलेशाले ४–२ ले पछि पारिन्। ‘सबै खेलमा मैले नै अग्रता लिएँ। मेरो लक्ष्य स्पष्ट थियो, प्रतिद्वन्द्वीमाथि सुरुमा नै दबाब बनाउने। त्यहीअनुरूप अट्याकिङ रणनीति बनाएको थिएँ,’ पलेशाले आफ्नो खेलबारे सुनाइन्। 

आइतबार स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न गएकाको उपस्थितिले पनि पलेशाको ऐतिहासिक सफलतालाई प्रस्ट्याएको छ। केही वर्षअगाडि मात्र बागबजारकी पलेशा अपरिचित थिइन्। राम्रोसँग पढ्नु उनको लक्ष्य थियो। रियो ओलम्पिकअगाडि ओलम्पिक डेमा चित्रकलामा तेस्रो भएकी उनले एक दिन ओलम्पियन बन्नेछु भन्ने कल्पना नै गरेकी थिइनन्। सन् २०१६ ओलम्पिक डेको चित्र कोरेकी उनको लक्ष्य एकाएक फेरियो। पारालम्पिकमा स्वर्ण जित्न उनको सपना बन्यो। तथापि, उनले विद्यालयमा कक्षा ५ बाटै तेक्वान्दो भने खेलेकी थिइन्।  

तर, त्यो सोख थियो। जन्मजातै पलेशाको एउटा हात अपूरो थियो। अझै भनाैँ प्रकृतिले उनलाई न्याय दिएन। तर, प्रकृतिको न्याय पाएका मानिसभन्दा उनले फरक बन्ने प्रयास गरिन्। किनकि उनी अहिले देशलाई ऐतिहासिक सफलता दिलाउने खेलाडी हुन्, जसले नेपालको पारा तेक्वान्दोमा सफलताको कथा पनि कोरेकी छन्। अझ भनौं नेपाली खेलकुदमै पारालम्पिकजस्तो प्रतिस्पर्धामा दुई जित रचिन्। सहभागितामा मात्र सीमित हुने नेपालको परम्परामा विजयरेखा कोरिन्। जुन उनको जीवन परिवर्तनको सञ्जीवनी पनि बन्न सक्दछ। र, कयौं फरक क्षमता भएका मानिसका लागि मार्गदर्शन पनि।  

आफ्नो लक्ष्य पूरा नभए पनि व्यक्तिगत रूपमा आफूले अन्तिम क्षणसम्म लडेको उनको बुझाइ छ। ‘समग्रमा खेल राम्रो रह्यो। तथापि मेरो लक्ष्य पूरा हुन सकेन। म स्वर्णका लागि त्यहाँ गएको थिएँ। तर, सफलता पाउन सकिनँ। म भूतबारे सोच्दिनँ र भविष्यतर्फ केन्द्रित हुनेछु,’ आफ्नो लक्ष्यबारे उनको भनाइ छ। उनी पनि यो अवसर त्यसै खेर जान दिने पक्षमा छैनन्। किनकि यहाँसम्म पुग्न पनि उनले निकै संघर्ष गरिसकेकी छन्। सुरुका खेलमा उनी केही नर्भस भइन्। साथै ब्रिटेनकी बेथ मुनरोको उचाइले पनि उनलाई केही चुनौती दियो।

‘उनी मभन्दा अग्ली थिइन्। उनको खुट्टामा मेरो चेस्टगार्डमा सहजै आउँथ्यो। प्रयास गरें, तर सकिनँ,’ उनले भनिन्। त्यो हारपछि उनको खुट्टाको चोटभन्दा बढी मन दुख्यो। एकछिन् भावुक बनिन् र आँखाहरू पनि रसाए। ‘मैले गो फर गोल्ड भनेको थिएँ। सहभागिताका लागि मात्र त्यहाँ गइकी थिइनँ,’ उनले भनिन् , ‘तर पहिलो खेलमा नै हार्दा निकै रोएँ। तर, आफूलाई सम्हालेँ।’ किनकि पहिलो खेलमा पराजयपश्चात् उनीसँग रिपेचेजमार्फत कांस्य जित्ने अन्तिम अवसर थियो। 

त्यस कारण पनि उनले चोटलाई छिट्टै बिर्सिदिइन्। ‘मन त समालिन सकेन। तर, पनि देशका लागि कांस्य भए पनि जित्छु भन्ने सोचें। मैले कांस्य प्राप्त गर्न तीन खेल जित्नैपथ्र्यो,’ कांस्य प्रतिस्पर्धाबारे उनी भन्छिन्, ‘ती सबै खेल एकै दिन थिए। अमेरिकासँगको पहिलो खेल जितेँ। त्यसपछि म निकै उत्साही भएँ।’ विश्व नम्बर तीनकी अमेरिकन खेलाडी ब्रियान्ना सालिनारोमाथि १०–० को जितपछि उनी निकै हौसिइन्।

 त्यसपछि विश्व नम्बर १३ की पलेशामा धेरै आत्मविश्वास पनि पलायो। उनी विश्व वरीयतामा खासै विश्वास राख्दिनथिन्। वर्तमानको प्रदर्शनले मात्र जित रच्न सकिन्छ भन्ने उनको बुझाइ थियो। त्यसैले त उनले ओलम्पिकमा आफूभन्दा माथिल्लो वरीयताकालाई स्तब्ध बनाइन् र मुनरोबाहेक अन्यलाई चुनौती पनि दिइन्। नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामा पनि पलेशाको यस किसिमका प्रदर्शनलाई उच्च स्तरकै सफलता मान्छन्। ‘पदक मात्रै सबैथोक होइन। तर पनि उनले पदकका लागि धेरै लडेकी छन्। ओलम्पिकमा विश्वस्तरीय खेलाडीलाई हराउनु पनि ठूलै सफलता हो,’प्रशिक्षक लामाले भने।  

अर्को चरणमा पनि शीर्ष १० की सर्बियाली खेलाडीलाई उनले पराजित गरिन्। ‘मेरो देब्रे खुट्टामा निकै दुखाइ थियो। साथै किक ब्लक गर्ने क्रममा एउटा मेरो हातमा दुखाइ उस्तै थियो, तर पनि सहें। प्रतिस्पर्धीअनुसार खुट्टा चलाउनुपथ्र्यो। त्यसैले त्यो दुखेको खुट्टाले नै उनलाई हानेँ र जित पनि मिल्यो,’ उनी भन्छिन्। तर त्यो खेल सकिएको पाँच मिनेटमा नै उनले विश्व च्याम्पियन लीसँग प्रतिस्पर्धा गर्नुपर्‍यो। लीले भने पहिलो खेल बाई पाएकाले उनी पलेशाको तुलनामा कमै थकित थिइन्। 

सुरुआतमा उनले लीसँग अग्रता लिँदै दबाबमा राखिन्। तर, दोस्रो चरणमा उनको प्रदर्शन प्रभावकारी बन्न सकेन। लीले पाँच अंक बटुल्दा उनी अंकविहीन भइन्। ‘म कांस्यको नजिकै थिएँ। १० सेकेन्ड बाँकी छँदासम्म ९–९ मा थियो। तर, मैले हानेको किक उनको खुट्टासम्म मात्र पुग्यो। त्यसमा पनि नम्बर काटियो,’ उनले भनिन्, ‘अन्तिम समयमा पराजित भएँ। देशलाई पदक दिलाउन चुकें।’ तर पनि उनी कति पनि विचलित भएकी छैनन्। अर्को ओलम्पिक र विश्वच्याम्पियनसिपका लागि तयार हुने उनको लक्ष्य छ। त्यसैले उनी भन्छिन्, ‘यो मेरो सुरुआत हो। त्यसैले नतिजा पक्कै आउनेछ।’

प्रकाशित: २२ भाद्र २०७८ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App