२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml
अर्थ

एमआरपी विवाद टुंगियो: रोकिएका आयातित सामान छुट्न थाले

आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी विवाद तत्कालका लागि समाधान भएपछि विराटनगर भन्सार नाकामा रोकिएका सामान छुट्न थालेका छन्। भन्सार विन्दुमै एमआरपी लेबल अनिवार्य राख्नुपर्ने व्यवस्था लागू भएसँगै एक सातादेखि तयारी वस्तुको आयात अवरुद्ध भएको थियो।

व्यवसायीहरूले उक्त व्यवस्था अव्यवहारिक रहेको भन्दै आयात नै रोकेपछि समस्या चर्किएको थियो। यसबीच भन्सार विभागले तीन बुँदे प्रतिबद्धता ल्याएर सहजीकरण गरेपछि जाँचपास प्रक्रिया पुनः सुरु भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले जानकारी दिए। “सहजीकरणपछि रोकिएका सामान व्यापारीहरूले छुटाउन थालेका छन्,” उनले भने।

नयाँ व्यवस्थाअनुसार आयातकर्ताले भन्सार विन्दुमै एमआरपी स्वघोषणा गर्न सक्नेछन्। यससँगै बुधबारदेखि आयातकर्ताहरूले भन्सारमा थन्किएका सामान लैजान थालेका हुन्। भन्सार परिसरमा रोकिएका ट्रक तथा कन्टेनरको संख्या घट्दै गएको भए पनि सीमावर्ती भारतीय क्षेत्रमा अझै धेरै सवारीसाधन रोकिएको हुनसक्ने अधिकारीहरूको भनाइ छ।

यता आयातकर्ताहरूले भने भन्सार परिसर र सीमावर्ती क्षेत्रमा करिब ४ सय मालवाहक ट्रक तथा कन्टेनर रोकिएको दाबी गरेका छन्। भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष देवकी शर्माका अनुसार विभागले जारी गरेको सर्कुलरअनुसार आयातकर्ताले आफ्नो कम्पनीको लेटरहेडमा तीन बुँदे प्रतिबद्धता जनाउनुपर्नेछ।

उक्त प्रतिबद्धतामा भन्सार जाँचपासका बेला वस्तुको प्रकृतिका कारण एमआरपी नभए स्वघोषणा गर्ने, तर बजारमा बिक्रीअघि अनिवार्य रूपमा एमआरपी लेबल टाँस गर्ने सहमति जनाउनुपर्ने उल्लेख छ।

एमआरपी विवादका कारण विद्युतीय सामग्री, टेलिभिजन, फ्रिज, वासिङ मेसिन, पंखा, खाद्यान्न तथा लत्ताकपडालगायतका विभिन्न वस्तु आयात प्रभावित भएका थिए। अब सहजीकरणसँगै ती सामान क्रमशः बजारमा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ वैशाख २०८३ २०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App