coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको जित्ने लक्ष्य अधुरो

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भए पनि नेपालका दुई गोलकिपर किरणकुमार लिम्बु र विशाल श्रेष्ठका लागि भने आइतबारको दिन विशेष रह्यो। सन् २००८ मा कम्बोडियामा सम्पन्न एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका किरणले बिहीबार मात्र पूर्वकप्तान विराज महर्जनको नाममा रहेको सर्वाधिक ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए। 

आइतबार भारतविरुद्धको दोस्रो खेलसँगै किरणले नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक खेलको कीर्तिमान रचेक हुन्। उनको यो नेपाली राष्ट्रिय टोलीबाट ७४औं खेल थियो। विराजले गत चैतमा काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपअन्तर्गत बंगलादेशविरुद्धको फाइनल खेलसँगै राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका छन्।

यता नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रहँदै आए पनि गोलकिपर विशाल श्रेष्ठले भने डेब्युको अवसर पाएका थिएनन्। सन् २०११ मा विश्वकप छनोट चरणमा पहिलो चरण राष्ट्रिय टोलीमा स्थान बनाएका विशालले डेब्युका लागि भने एक दशक कुर्नुपर्‍यो। किरण र विकेश कुथुसँगै विशाल नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य रहँदै आएका थिए। 

यद्यपि किरणको अनुपस्थितिमा विकेशले नेपालको गोलपोस्ट सम्हालेसँगै विशालको डेब्यु सपना पर धकेलिँदै आएको थियो। आइतबार भारतविरुद्धको खेलको ८६ औँ मिनेटमा किरणकुमार लिम्बुको स्थानमा मैदान प्रवेश गरेसँगै विशालको नेपाली राष्ट्रिय फुटबल टोलीको डेब्यु सपना साकार भएको हो।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियसिपको तयारीमा रहेको नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई २–१ को नतिजा सुम्पिएको हो। यस हारसँगै भारतविरुद्धको घरेलु मैदानमा जित हात पार्ने नेपालको लक्ष्य पनि अधुरै रह्यो। नेपालले पछिल्लो पटक सन् २०१३ सेप्टेम्बरमा सम्पन्न साफ च्याम्पियनसिपको समूहचरणमा नेपालले भारतलाई हराएको थियो। त्यसपछि खेलिएका ७ मध्ये ५ खेल भारतले जितेको छ भने २ खेल बराबरीमा टुङ्गिएका छन्।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकिएको थियो। आइतबार सो टोलीमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३ खेलाडी परिवर्तन गर्दै पहिलो रोजाइ उतारेका थिए। स्ट्राइकर अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन अर्याललाई विश्राम दिएका अल्मुताइरीले मनीष डाँगी, आशिष लामासँगै सुजल श्रेष्ठलाई पहिलो रोजाइमा उतारेका थिए।

१३औं मिनेटमा मनीषले नेपाललाई अग्रता दिलाउने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन्। उनले बल राम्रोसँग नियन्त्रणमा लिन नसक्दा भारतका रक्षकले बल क्लियर गरेका थिए। २८औं मिनेटमा नेपालले पुनः अग्रता लिने अवसर पाए पनि आयुष घलानको क्रसमा अनमार्क रहेका आशिष लामा हेडरका लागि बलसम्म पुग्न सकेनन्।

६२औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता लिएको थियो। ८०औं मिनेटमा कप्तान सुनील क्षेत्रीले काउन्टर अट्याकमा बललाई जाली चुमाउँदै भारतको अग्रता दोब्बर पारेका थिए।

खेल सकिन ३ मिनेट बाँकी रहँदा तेज तामाङले गोल गरे पनि त्यो नेपालका लागि खेलमा फर्कन पर्याप्त भएन। भारतसँगको हारपछि प्रशिक्षक अल्मुताइरीले नतिजा अर्को पाटो भएको भन्दै टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए।

‘हामीले पहिलो खेलको तुलनामा आज धेरै राम्रो खेल्याैँ, गोलका धेरै अवसर पनि सिर्जना गर्‍याैँ तर त्यसको सदुपयोग गर्न नसक्दा खेल गुमाउनुपर्‍यो,’ अल्मुताइरीले भने, ‘नतिजा एउटा पाटो हो जुन आज हाम्रो पक्षमा थिएन तर टोलीले जुन प्रदर्शन गरेको छ त्यसबाट म सन्तुष्ट छु।’  

यता भारतका प्रशिक्षक इगोर स्टिमाकले पहिलो खेलमा सोचेअनुरूपको प्रदर्शन गर्न नसके पनि दोस्रो खेलमा हात पारेको जितले टोलीमाथिको दबाब कम भएको बताए। ‘पहिलो खेलको तुलनामा आज हामी निकै अब्बल रह्यांै। मुख्य त टोलीले धैर्यता गुमाएन र स्वाभाविक खेल खेल्यो,’ स्टिमाकले भने, ‘पहिलो गोल गरेपछि भने हामी ढुक्क भएर खेल्न थाल्याैँ।’

प्रकाशित: २१ भाद्र २०७८ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App