२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

बलियो टोलीविरुद्ध जित निकाल्ने लक्ष्य

तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी भारतविरुद्धका मैत्रीपूर्ण खेलमा जित निकाल्दै नेपालले दक्षिण एसियाली फुटबलमा आफ्नो उदयको संकेत गर्ने लक्ष्य राखेको छ। आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुने १३औं संस्करणको साफ च्याम्पियनसिप लक्षित नेपाल र भारतबीच बिहीबारबाट दुई मैत्रीपूर्ण खेल सुरु हुँदै छ। 

भारत सात पटकको साफ विजेता हो भने नेपालले सेमिफाइनलभन्दा माथि यात्रा तय गर्न सकेको छैन। तर पनि नेपालले छिमेकी टोलीविरुद्ध राम्रो प्रदर्शन गर्ने गरेको छ। त्यसैले नेपाल र भारतबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिन्छ। भारत र नेपाल १९औं पटक आमनेसामुने भएका छन्। जुन भेटमा भारतले १३ नतिजा आफ्नो पक्षमा पार्दा नेपालले दुई जित मात्र निकाल्न सकेको छ। चार खेलका नतिजा भने बराबरीमा टुङ्गिएका छन्। त्यसैले पनि दक्षिण एसियाली फुटबलमा भारत तुलनात्मक रूपमा निकै बलियो टोली हो। 

 

विश्व वरीयतामा पनि भारत १ सय ५औं स्थानमा छ भने नेपाल १ सय ६८औं स्थानमा। भारतले व्यावसायिक फुटबलमा पनि धेरै उन्नति गरेको छ भने नेपालको घरेलु फुटबलको संरचना खासै राम्रो बन्न सकिरहेको छैन। तथापि, नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इतिहास जस्तोसुकै भए पनि वर्तमानको तयारी र प्रदर्शनले मात्र नतिजा निक्लनेमा आशावादी रहेको बताएका छन्। ‘भारत निकै बलियो टोली हो र हामीले उनीहरूविरुद्ध दुईवटा मात्र जित निकालेका छौं। तर, यो नतिजाले खासै असर गर्दैन र हामी जित रच्नकै लागि खेल्नेछौं,’ प्रशिक्षक अल्मुताइरीको विश्वास छ।  

उनले नेपाल जितकै लागि नै उत्रने र आम समर्थकलाई गर्विलो महसुस हुने तवरले प्रदर्शन गर्ने पनि विश्वास व्यक्त गरेका छन्। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बिहीबार दशरथ रंगशालामा साँझ साढे पाँच बजे हुनेछ। नेपालले पछिल्लो पटक घरेलु भूमिमा भारतसँग सन् २०१५ को मार्चमा फिफा विश्वकपको प्रारम्भिक चरणको छनोट खेलेको थियो। जुन खेलको नतिजा गोलरहित बराबरीमा टुङ्गियो। त्यो समयका तीन खेलाडी गोलकिपर किरणकुमार लिम्बु, अन्जन विष्ट र अनन्त तामाङ मात्र वर्तमान टोलीमा छन्। अधिकांश युवा टोली सम्मिलित नेपाललाई अनुभवी र बलियो टोली भारतविरुद्ध जित निकाल्न कठिन नै हुने छ ।

तर, भारतका लागि नेपाल कमजोर टोली भने होइन। घरेलु भूमिमा नेपालले छिमेकी प्रतिद्वन्द्वीलाई कडा चुनौती दिने गर्दछ। भारतीय टोलीका प्रशिक्षक इगोर स्टामिकले पनि नेपालविरुद्धका दुई मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने स्वीकार गरेका छन्। क्रोसिएन प्रशिक्षक इगोरले पछिल्लो विश्वकप छनोट चरणमा नेपालले निकै राम्रो प्रदर्शन गरेकाले प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरेका छन्। ‘युवा खेलाडी सम्मिलित नेपालले विश्वकपमा निकै राम्रा अवसरहरू सिर्जना गरेका थिए। हामीले पनि राम्रो तयारी गरेका छौं, त्यसैले खेल प्रतिस्पर्धात्मक हुनेछ,’ इगोरले भने।  

यस मैत्रीपूर्ण खेलबाट आगामी साफ च्याम्पियनसिपमा आफ्नो तयारी देखिने भएकाले पनि राम्रो प्रदर्शन गर्ने भारतीय प्रशिक्षक इगोरको भनाइ छ। भारतका कप्तान सुनील क्षेत्रीले पनि नेपालविरुद्ध खेल सहज नहुने प्रस्ट्याएका छन्। ‘नेपालसँग खेल्न जहिले पनि कठिन नै हुने गर्दछ। झन् यसै पनि हामी उनीहरूको मैदानमा खेल्दै छौं, त्यसैले खेल प्रतिस्पर्धात्मक नै हुनेछ,’ भारतका कप्तान क्षेत्रीले भने। साथै क्षेत्रीले यस्तो कठिन परिस्थितिमा पनि मैत्रीपूर्ण खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई धन्यवाद ज्ञापन गरे। अल्मुताइरीको प्रशिक्षणमा नेपालले चार खेल खेलेको छ, जहाँ उनको प्रशिक्षणमा नेपालले तीन हार र एक जित आत्मसात् गरेको छ।  

यस पटक घरेलु मैदानमा अल्मुताइरी आफ्नो नेपाल बसाइलाई प्रभावकारी बनाउन बिहीबार दोस्रो जितको खोजीमा हुनेछन्। तथापि, उनले आफ्नो मुख्य लक्ष्य नै साफ च्याम्पियनसिप भएको प्रस्ट पारिसकेका छन्। ‘यी खेल टोलीको स्तर मापनको माध्यम हो। हाम्रो मुख्य लक्ष्य नै साफ च्याम्पियनसिप हो,’उनले भने। प्रशिक्षक अल्मुताइरीले नेपाली ‘गोर्खाली’ भएको स्मरण गराउँदै ‘इतिहास बनाउन तयार’ रहेको बताए। ‘हामीले दुई महिनादेखि तयारी गरेका छौं। साथै इन्डियन टोलीलाई पनि विश्लेषण गरेका छौं,’ उनले भने, ‘उनीहरूसँग हाम्रो नतिजा राम्रो छैन। तर, पनि हामी इतिहास रच्न तयार छौं। हामी गोर्खाली हौं,त्यसैले हामीले जित्नेछौं ।’ नेपालका लागि साफ च्याम्पियनसिप महŒवपूर्ण भएकाले त्यसलाई ध्यानमा राखेर तयारी गरिरहेको उनले पटकपटक दोहोर्‍याएका थिए।  

‘साफमा हाम्रो इतिहास राम्रो छैन। तथापि, हामी कमजोर पनि छैनौं। त्यसैले हामी जित्न सक्छौं,’ उनले भने, ‘भारतविरुद्धका दुईमध्ये कम्तीमा पनि एक खेल जित्न चाहन्छौं ।’ उनले बिहीबार टोलीमा केही परिवर्तन हुने पनि संकेत गरेका छन्। नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले दुई महिनादेखि तयारीको परिणाम आगामी दुई मैत्रीपूर्ण खेलमा देखिने प्रस्ट्याए। ‘हामीले लामो समयदेखि तयारी गरेका छौं। त्यो, तयारी मैत्रीपूर्ण खेलमा पनि देखिनेछन्। हामी मानसिक रूपमा पनि भारतलाई चुनौती दिन तयार छौं,’ उनले भने, ‘प्रशिक्षकले राम्रो तयारी गराउनु भएको छ। हामी शारीरिक र मानसिक रूपमा पनि बलिया भएका छौं ।’

साथै कप्तान किरणले भारतविरुद्ध प्रतिस्पर्धात्मक खेल देखाउँदै घरेलु भूमिमा गर्वको महसुस गराउने अपेक्षा राखेका छन्। नेपालले भारतविरुद्धका दुई जितमध्ये एक दशरथ रंगशालामा नै सन् २०१३ मा निकालेको थियो। ०१३ को साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई २–१ ले हराउँदै छिमेकी टोलीविरुद्ध दोस्रो जित निकालेको थियो। यसपटक पनि नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्‍याउला त ? तथापि, पछिल्लो समय भारतले फुटबलमा धेरै विकास गरिसकेको छ, जुन विश्व वरीयतामा उसको उपस्थितिले पनि थप प्रस्ट पार्दछ। यद्यपि, घरेलु समर्थकको साथ पाउने नेपालले पनि भारतविरुद्धको जितलाई प्रतिष्ठाको लडाइँ मान्ने गरेको छ र कडा चुनौती दिनेमा दुई मत छैन ।

प्रकाशित: १७ भाद्र २०७८ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App