१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा फेरिँदै समीकरणः पहिलो दल बन्दै कांग्रेस, एमाले अझै तेस्रो रहने

नेकपालाई एकताको बल

राष्ट्रिय सभाका रिक्त हुन लागेका १९ सिट मध्ये १८ सिटका लागि बुधबार मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार सात वटै प्रदेशमा १८ सिटका लागि ४४ जनाको उम्मेदवारी परेको छ।  

जसमा कोसी प्रदेशमा ५, मधेसमा ११, बागमतीमा ६,  गण्डकीमा ६, लुम्बिनीमा ८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाले उम्मेदवारी दिएका छन्।

यसपटक निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका छन्। जसमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालले पनि मिसिएका छन्। दुवै दलले पछिल्लो समय एकता गर्ने सहमति गरिसकेका छन्।  

सोहीअनुसार १८ सिटमध्ये ९ मा कांग्रेस, ८ मा एमाले र एक सिटमा लोसपाले उम्मेदवारी दिएको छ। यस्तो समीकरण बनिसकेपछि मतदाताको मतभारअनुसार सबैजसो सिटमा कांग्रेस–एमाले र लोसपाकै उम्मेदवार जित्ने पक्कापक्की बनेको छ।  

फेरिँदै समीकरण  

५९ सदस्यीय राष्ट्रिय सभामा सात वटै प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र ३ जना सांसद राष्ट्रपतिबाट मनोनीत गरी ५९ जना सांसद हुन्छन्।

यसअघि भएका निर्वाचनमा कांग्रेस–एमालेसँग फेरिफेरि गठबन्धन गरेकाले तत्कालीन नेकपा माओवादी केन्द्रलाई निकै लाभ भएको थियो। हालसम्म राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसहित १८ सांसदसहित माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल छ। 

माओवादी केन्द्रसँग एकता गरेको नेकपा एकीकृत समाजवादीसँग हाल ८ सांसद छन्। दुवै दलसहितका वाम घटक मिलेर हाल नेपाली कम्युनिस्ट पार्टी बनेको छ। जससँग हालसम्म २६ सांसद छन्।  

दोस्रो रहेको कांग्रेससँग १६ जना सांसद मात्रै छन् भने, एमाले ११ सांसदसहित तेस्रो छ। यस्तै जसपा नेपालसँग तीन, लोसपासँग एक र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्। भने मनोनीतबाट सांसद बनेका वामदेव गौतम हालसम्म स्वतन्त्र छन्।  

राष्ट्रिय सभामा हरेक दुई वर्षमा एक तिहाइ सांसद रिक्त हुन्छन्। यसपटक मनोनीत सांसद वामदेव गौतमसहित १९ जनाको पद रिक्त हुँदैछ। यसले समीकरण फेरिने देखिएको छ।  

यसपटक वामदेवबाहेक एमालेका ८, माओवादी केन्द्रका ७,  नेकपा एसका १, जसपा नेपाल १, लोसपा १ सांसद बिदा हुँदैछन्। बिदा हुनेमा एमालेका इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन्।

माओवादीका गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान बिदा हुँदैछन्। नेकपा एसका बेदुराम भुसाल, जसपा नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोसपाका शेखरकुमार सिंह बिदा हुँदैछन्।  

तर, कांग्रेसबाट सांसद हरेका १६ जनामध्ये कोही पनि बिदा हुने छैनन्। यता नयाँ निर्वाचन समीकरणमा अन्यथा नभए थप ९ जना सांसद थपिने निश्चित भएको छ। जसले कांग्रेस २५ सांसदसहित राष्ट्रिय सभामा पहिलो दल बन्ने देखिएको छ।  

उता माओवादी केन्द्र र नेकपा एससहित मिलेर नयाँ दल बन्दा २६ सिट रहेको नेकपालाई ८ सिट हानी पुग्ने देखिएको छ। जसले नेकपा १८ सिटमा झर्नेछ।  उता एमालेको ११ सिटबाट आठ सिट घटेर आठै थपिँदा पनि उसको समान स्थितिमै रहने छ।  

जसपा नेपालले भने एक सिट गुमाउने छ। तर, लोसपा र जसपा मिलेर बन्ने नयाँ दलको राष्ट्रिय सभामा ३ सिट हुनेछ।  

वामदेव गौतमको ठाउँमा कसलाई ल्याउने त्यो जिम्मेवारी भने अहिलेको सुशीला कार्की नेतृत्वको सरकारको हुनेछ। सरकारको सिफारिसमा उक्त सिटमा राष्ट्रपति रामचन्द्र पौडेलले पदपूर्ति गर्नेछन्।  

प्रकाशित: २३ पुस २०८२ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App