लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाको निर्देशनमा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जका शाखा प्रमुख असई नवीनकुमार शाहीको नेतृत्वमा खटिएको टोलीले कारबाही गरेको हो ।
बुधबार फिरोज खानले लागुऔषध खैरो हेरोइनको खरीदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ लालपुर नजिकै शंकास्पद व्यक्तिलाई फेला पारेको थियो । कानुनबमोजिम चेकजाँच गर्न खोज्दा ती व्यक्ति भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो ।
प्रहरीका अनुसार प्रहार गरिएका दुई राउन्डमध्ये एक राउन्ड खानको दाहिने खुट्टामा लागेको प्रहरीले जनाएको छ । गोली लागेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान फिरोज खान भएको र उनले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद गरिएको खैरो हेरोइनको शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको छ । साथै घटनास्थलबाट मोबाइल फोन थान–३ समेत बरामद गरिएको छ ।
घाइते अवस्थामा पक्राउ परेका खानलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: २३ पुस २०८२ २०:१७ बुधबार





