१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन्।

जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तिँदै गएपछि बाँदर गाउँका घरमा बस्न थालेको उनले बताइन्। बारीमा लगाएको बालीदेखि घरमा राखेको सबै सामान बाँदरले नष्ट गरी दिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको उनको भनाइ छ। टोलछिमेकी सबै बजार झरेको भन्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने थापा बताउँछिन्।

“बाँदरले गाउँमा बस्न गाह्रो बनाइ सक्यो, न बारीका बाली राम्रो हुन दिन्छ, न घरमा राखेका सरसामान सुरक्षित हुन्छन्, यस्तो अवस्थामा कसरी गाउँमा बस्न सकिन्छ र? ” उनले भनिन्, “पहिलो मान्छे विकास नभएर बजार झरे, अहिले विकास भएको छ तर बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ, जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ उसैलाई भोट दिने हो।”

स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्ने समस्या हुने गरेको बताइन्। पहिले वनमा बस्ने बाँदर हिजोआज गाउँमा बस्न थालेको भन्दै केटाकेटी र बूढाबूढीलाई आक्रमण गर्न आउने उनको भनाइ छ। घर छोडेर मेलापातमा जाँदा एकदुई जना घरकुरुवालाई राखेर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन्।

उनले भनिन्, “पछिल्लो पाँच वर्षदेखि गाउँमा बाँदरले आतङ्क मच्चाएको छ, हुनेखानेहरू सबै शहर बजार गइसके, गाउँमा हुने त उही सामान्य परिवारका मात्रै छन्, पहिले पहिले गाउँमा धेरै मान्छे भएर होला बाँदर डराउँथे, अहिले त धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन् यो हिसाबले गाउँमा बस्न सक्ने अवस्था छैन, चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरी गाउँमा बस्ने वातावरण मिलाइ दिनु अनुरोध गरेका छौँ।

बरेङ–१ तमबहादुर विकले  जनताको माग र आवश्यकतालाई बुझेर काम गर्ने नेतालाई भोट दिने बताए। धेरै थरिका नेताहरु भोट माग्न आइरहेको उनको भनाइ छ। यसपालि किसानका समस्यमा बुझ्ने उम्मेदवारलाई भोट दिने उनको भनाइ छ।

प्रकाशित: १४ फाल्गुन २०८२ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App