सुरुआती अग्रता लिएको स्विट्जरल्यान्डले अन्तिम १६ मिनेट कायम राख्न नसक्दा शनिबार वेल्ससँग १–१ गोलको बराबरी खेल्दै युरो कप २०२० को सुरुआत गरेको छ।
समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले वेल्सलाई सुरुआतबाट नै दबाब दिएर खेले पनि स्पष्ट तीन अंक जोड्न असफल रह्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। तुलनात्मक हिसाबमा स्विट्रल्यान्डले दबाब दिएर खेले पनि वेल्सका गोलकिपर डेनिस वार्डले पहिलो हाफको खेलमा उत्कृष्ट बचाउ गर्दै स्विट्जरल्यान्डका प्रयासलाई विफल पारेका थिए।
दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको स्विट्रल्यान्ड्ले सुरुमा नै गोल गर्न सफल भयो। बेरिल इम्बोलोले खेलको ४९औं मिनेटमा कर्नर बलमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। कर्नरबाट आएको बललाई इम्बोलोले हेडरमार्फत जाली चुमाएका थिए। पछि परे पनि सम्हालिएको खेल देखाएको वेल्सका लागि केइफर मोरेले गोल गर्दै खेल बराबरीमा ल्याए। ७४औं मिनेटमा जो मेरेलले दिएको क्रसबलमा केइफरले हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। त्यसपछि ८५औं मिनेटमा स्विट्जरल्यान्डले गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) मान्यता दिएन।
यसअघिको भिडन्तमा सात पटक बाजी मारेको स्विट्जरल्यान्डले यो पटक भने जितलाई निरन्तरता दिन सकेन। ८ पटकको भिडन्तमा यी दुई टोलीको प्रतिस्पर्धा पहिलो पटक बराबरीमा सकिएको छ। यस्तै वेल्सले भने दुई पटक स्विट्जरल्यान्डमाथि जित निकाल्न सकेको छ। जितपछि समूह ‘ए’ का चार टोलीले एक एक खेल खेलेका छन्। उद्घाटन खेलमा जित निकालेको इटालीले ३ अंक जोड्दा बराबरी खेलेका स्विट्जरल्यान्ड र वेल्सले १–१ अंकको खाता खोलेका छन्। इटालीसँग ३–० ले पराजित टर्की अंकविहीन छ।
प्रकाशित: ३० जेष्ठ २०७८ ०१:२४ आइतबार