२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

सुदरपश्चिम र प्रदेश १ को विजयी सुरुवात

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा सुदुरपश्चिम र प्रदेश १ ले विजयी सुरुवात गरेका छन्। लमही स्थित देउखुरी क्रिकेट मैदानमा मंगलबार भएका दुई प्रतिष्पर्धामा समुह ‘बि’ को सुदुरपश्चिम गण्डकी प्रदेशमाथि हाबी भयो भने प्रदेश १  बागमती प्रदेशमाथि हाबी भयो। मंगलबार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्यो। सुदुरपश्चिमले दिएको १ सय ८ रनको बिजयी लक्ष पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रनमा सिमित हुन पुग्यो। 

ब्याटिङ तर्फ गण्डकीका कुनै पनि खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन्। उनिहरु मध्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। गण्डकीका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडे। ४८ रनमै सिमित पार्दै गण्डकी माथि हाबी भएको सुदुरपश्चिमका लागि सुनिता लोहारले २ विकेट हात पारिन्। कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले समान १÷१ विकेट लिए।  

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको सुदुर पश्चिमले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। टिमले उक्त योगफल खडा गर्ने क्रममा उसका लागि ओपनर रेवती धामीले सर्वाधिक ठूलो पारी खेलिन्। ३६ बलको सामना गरेकी उनले २ चौका सहित २७ रन बनाएकी थिइन्।  यस्तै रेवतीबाहेक टोलीका लागि कप्तान विन्दु रावलले १३ रन , ओपनर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन्।  

बलिङतर्फ गण्डकी प्रदेशकालागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३÷३ विकेट हातपारे। भने अञ्जली विश्वकर्माले पनि १ विकेट लिन सफल भइन्। मंगलबारनै भएको दोस्रो खेलमा प्रदेश १ ले बागमती माथि सहज जीत दर्ता गर्यो। प्रतियोगीतामा जीत सुरुवात गर्ने क्रममा प्रदेश १ ले बागमतीलाई ४६ रनले पाखा लगायो। प्रदेश १ ले दिएको १ सय ७ रनको विजयी लक्ष पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो। बागमतीका लागि कञ्चलन श्रेष्ठले सर्बाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन जोडिन्। तर उनिहरु बाहेक बागमतीका अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङ तर्फ प्रदेश १ का निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारिन्।सबनम राई , अलिशा खाडिया र निशाशाहले समान १÷१ विकेट लिए।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रनको योगफल तयार पार्यो। प्रदेश १ को यो योगफलका लागि कप्तान रुबिना क्षेत्रीले अर्धसतकीय पारी खेलिन्। ५५ बल सामना गरेकी उनले ६ चौका सहित ५५ रनको योगदान गरिन्।  अप्सरी बेगमले १६ रन बनाउँदा निग्मा तामाङले ५ रन जोडिन्। बलिङतर्फ बागमतीका लागि आरती बिडारीले २ विकेट लिइन्। कप्तान अस्मिना कर्माचार्य ,निग्मा तामाङ र कृष्मा गुरुङले समान १÷१ विकेट लिए। प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा सुदुर पश्चिमले प्रदेश १ को सामना गर्नेछ  भने दोस्रो खेलमा बागमतीले गण्डकीको सामना गर्नेछ।  

यता प्रतियोगिताको ‘समूह ए’ बिजेता विभागीय टोली एपीएफ र उपविजेता लुम्बिनीप्रदेश सेमिफाइनल पुगिसकेका छन्। प्रतियोगिता अन्तर्गत अब सेमिफाइनलमा एपीएफले समूहबीको उप –विजेतासँग खेल्ने छ भने लुम्बिनीले ‘समूह बी’को विजेतासँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ।

प्रकाशित: १४ पुस २०७७ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App