ब्याटिङमा राम्रो साथ पाएपछि नेपालले हङकङमा जारी चारदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ।
नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकालेको हो। यससँगै हङकङ, कतार र कुवेत सम्मिलित टी ट्वान्टी शृंखलामा नेपालले सुखद सुरुआत गरेको छ।
कतारले १५२ रनको लक्ष्य दिएको थियो। त्यो लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका शीर्ष चार ब्याटर नै यो लक्ष्य भेट्टाउन पर्याप्त बने। ओपनरद्वय कुशल भुर्तेलले ३८ र आसिफ शेखले ३३ रन जोडे।
यी दुईले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। थप ११ जोड्दा यी दुई ओपनर आउट हुन पुगे। कुशलले १९ बलमा चार चौका र तीन छक्का प्रहार गरे। आसिफले २१ बलमा चार चौका हिर्काए। त्यसपछि कप्तान रोहितकुमार पौडेल र बसिर अहमदले इनिङ समाले।
कप्तान रोहित ३७ र बसिर अहमद ३० रनमा अविजित रहे। तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरेका थिए। रोहितले २९ बलमा दुई चौका र एक छक्का हिर्काए। बसिरको यो इनिङमा दुई चौका रह्यो।
कतारको बलिङमा मुजिब उर रेहमानले नै दुई लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो। कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए। ५४ बलमा उनले पाँच चौका र दुई छक्का हिर्काए। सहजाद जामिलले ३१, मुजिब उर रहमानले अविजित २०, मोहम्मद इर्सदले अविजित १८ र अरूमुगागणेश नागराजनले १३ रन बनाए।
नेपालको बलिङमा करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए। अब नेपालले बिहीबार कुवेतको सामना गर्नेछ। टी ट्वान्टी शृंखलामा नेपाल, हङकङसहित कतार र कुवेतले प्रतिस्पर्धा गर्दै छन्। नेपालले तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तय छ। लिगचरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: २८ चैत्र २०८१ ०८:०६ बिहीबार





