१ वैशाख २०८२ सोमबार
image/svg+xml १३:६ अपराह्न
खेल

पोखरामा अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरामा चैत २७ गतेदेखि अन्तर विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बिल्स फाउण्डेसनको आयोजनामा यही २७ चैतदेखि ३० गतेसम्म प्रथम बिलबहादुर मेमोरियल अन्तर विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

ब्याडमिन्टन खेलको तल्लो तह (ग्रासरुट) बलियो बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा १६ वर्ष मुनिका बालबालिकाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अन्डर–१६ र अन्डर–१९ दुबैतर्फ एकल छात्र÷छात्रा इभेन्ट हुने बिल्स फाउण्डेसनका सचिव वरदान लामाले जानकारी दिए । यसैगरी, बी लेभलको गण्डकी खुल्ला डबलमापनि प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगिता बिल्स फाउण्डेसन र फिड नेपाल स्पोर्टस क्लबले हालै मात्र निर्माण गरेको पोखरा–१२ हस्पिटलचोकस्थित नेपाल स्पोर्टस फ्लेक्सको ईण्डोर हलमा हुने उनको भनाई छ ।

प्रतियोगिता अन्डर–१९ तर्फको छात्र तथा छात्रा दुवैतर्फका विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीय हुनेले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक भूगोल गुरुङले जानकारी दिए ।

त्यस्तै, अन्डर–१६ छात्र तथा छात्रा तर्फ विजेता हुने दुवैतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए । यसैगरी बी लेबलको गण्डकी खुल्ला डवल तर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

प्रतियोगिता आयोजना गर्न करिब १० लाख खर्च लाग्ने फिड नेपाल स्पोर्टस प्लेक्सका अध्यक्ष तुलसी गुरूङले जानकारी दिए । उनले प्रतियोगितामार्फत ग्रास रुटमा रहेका खेलाडीको प्रतिभा प्रष्फुटन गर्ने, उनीहरूको कसी दाँज्ने र प्रतिभावान खेलाडीलाई प्लेटफर्म क्रियट गरेर दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उल्लेख गरे । यसले भविष्यमा पर्यटनको राजधानीलाई खेल पर्यटनको माध्यमबाट टेवा पुग्नेसमेत उनको दाबी छ ।

ब्याडमिन्टन खेलाडी तथा समाजसेवी बिलबहादुर गुरुङको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । पोखरा–१० बुद्धचोक निवासी ९१ वर्षीय गुरुङको गत वर्ष चैत २७ गते निधन भएको थियो ।

प्रकाशित: २५ चैत्र २०८१ १७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App