१ वैशाख २०८२ सोमबार
image/svg+xml ११:३० पूर्वाह्न
खेल

यू-१९ शृंखलाः नेपालविरुद्धको शृंखला अफगानिस्तानको कब्जामा, दोस्रो खेलमा एक रनको रोमाञ्चक जित

यू-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले अफगानिस्तानविरुद्धको तीन खेलको शृंखला एक खेल अगावै गुमाएको छ ।

शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालमाथि आइतबार एक रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तानले शृंखलामाथि कब्जा गरेको हो ।  

मूलपानी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभर सकिन ३ बल बाँकी छँदै १६७ रनमा अलआउट भयो । अन्तिम ओभरको सुरुवाती तीन बलमा दुई चौका प्रहार गरेका दर्श सोनार नो बल रहेको चौथो बलमा रन आउट भएपछि नेपाल एक रनले पराजित हुन पुग्यो । अम्पाएरको नो बलको सिग्नल देख्न नसक्दा उनी २१ रनमा विकेटकिपरबाट रनआउट हुन पुगे । 

नेपालका लागि साहिल पटेलले ६४ र अभिषेक तिवारीले २४ रन बनाउँदै नेपाललाई एक समय जित नजिक पुर्याएका थिए । तर उनीहरु आउट भएसँगै नेपालको विकेट पतन सुरु भएको थियो ।  

नेपाललाई सस्तैमा समेट्न वासिदुर्लाह जर्दान, जियातुल्लाह सहिन र हाफिजुल्लाह जर्दानले समान २ विकेट लिए । 

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।  

अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । रोहुल्ला अरबले २७ रनमा आउट भए।  

नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले समान दुई–दुई विकेट लिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए।

यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल भइरहेको हो ।  

यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो। दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ।  

आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: २४ चैत्र २०८१ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App