नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन्। पौडेलले गत माघ ८ गते पदबाट राजीनामा दिएका थिए।
बुधबार पार्टी सचिव प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सभापति थापाले पौडेलको राजीनामा स्वीकृत गरेको जानकारी दिएका हुन्।
वि.सं. २०७३ वैशाख २७ गतेदेखि मुख्य सचिवको जिम्मेवारीमा रहेका पौडेलले पार्टीको विधान, नियमावली तथा नीतिअनुसार भूमिका निर्वाह गरेको भन्दै सभापति थापाले धन्यवाद ज्ञापन गरे।
साथै, पौडेलको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि उनको सहयोग निरन्तर रहने विश्वास सभापतिले व्यक्त गरेका छन्।
मुख्य सचिवको पद रिक्त भएसँगै सभापति थापाले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कायममुकायम मुख्य सचिवको जिम्मेवारी तोकेका छन्।
पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (१०), नियमावली २०७६ र कर्मचारी विनियमावली २०७९ बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि दुलाललाई उक्त जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ माघ २०८२ १६:४७ बुधबार





