लामो समयदेखि जेलमा बन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य बिग्रँदै गएको छ।
लन्डनमा बस्ने उनका दुई छोरा सुलेमान खान र कासिम खानले आफ्नो बुबाको दाहिने आँखाको दृष्टि ८५ प्रतिशत गुमेको र जेल प्रशासनले पर्याप्त उपचार नदिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनीहरूले खानको अवस्था बिग्रन सक्ने भन्दै बुबा (इमरान) जेलभित्र नै ‘मारिन’ सक्ने डर भएको पनि उल्लेख गरेका छन्।
रोयटर्सलाई दिएको अन्तर्वार्तामा दुवैले गत महिना भिसाका लागि आवेदन दिएको तर अहिलेसम्म प्रतिक्रिया नपाएको बताए। उनीहरूका अनुसार पाकिस्तानी सेना (सेना प्रमुख आसिम मुनीर) लाई आफूहरूले भ्रमण गरेमा विश्वको ध्यान इमरानको खराब स्वास्थ्य अवस्थामा बढी आकर्षित हुनेछ।
सुलेमान र कासिमले भनेका छन्, ‘हाम्रा बुबाको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गइरहेको छ। हामीलाई डर छ कि उहाँले उचित उपचार पाउनुहुन्न।’ कासिमले भावुक हुँदै थपे, ‘यति लामो समयसम्म उहाँदेखि टाढा रहनु धेरै गाह्रो छ। हाम्रो सबैभन्दा ठूलो चिन्ता उहाँको स्वास्थ्य हो, तर उहाँको स्वतन्त्रता, मानव अधिकार र निष्पक्ष मुद्दा पनि प्रमुख मुद्दा हुन्।’
इमरान खान अगस्ट २०२३ देखि आदियाला जेलमा बन्द छन्। अप्रिल २०२२ मा अविश्वास प्रस्तावबाट सत्ताबाट हटाइएपछि उनले धेरै मुद्दाको सामना गरेका छन्, जसलाई उनको दल पाकिस्तान तहरिक इन्साफ (पीटीआई)ले राजनीतिक षड्यन्त्र भनेको छ।
नोभेम्बर २०२२ मा हत्या प्रयासपछि उनका छोराहरूले उनलाई देखेका छैनन्। इमरान परिवारका सदस्यको आरोप अनुसार खान लामो समयदेखि एकान्त कारावासमा छन्। पाकिस्तानमा उनको नाम वा तस्विर प्रकाशन निषेध छ। जेल परेदेखि ढाई वर्षको अवधिमा एउटा मात्र सार्वजनिक तस्बिर भएको छ।
सर्वोच्च अदालतमा पेश गरिएको मेडिकल रिपोर्टले खानको एउटा आँखामा गम्भीर दृष्टि गुमेको देखाउँछ। सरकारले नियुक्त गरेको मेडिकल टोलीको रिपोर्ट नमान्ने अडानमा परिवार छ। उनका व्यक्तिगत चिकित्सकहरू डा. असिम र डा. फैसलद्वारा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग परिवारको छ। अलिमाले सरकारले नियुक्त गरेको डाक्टरहरूको रिपोर्ट परिवारले स्वीकार नगर्ने भन्दै भनिन्, ‘तपाईंले जेलमा डाक्टरहरूको टोली पठाउनुभएको छ र हामीलाई यसलाई स्वीकार गर्न वा ती डाक्टरहरूले दिएको रिपोर्ट स्वीकार गर्न भन्नुभएको छ– त्यस्तो हुनेछैन।’
परिवारले उनलाई इस्लामाबादको शिफा अन्तर्राष्ट्रिय अस्पतालमा स्थानान्तरण माग गरेको छ, जहाँ आफ्नै डाक्टर र आफन्तहरूको उपस्थितिमा उपचार गर्न सकिन्छ। दिदीबहिनीहरूले खानका लागि बोल्ने गरेका कारण सरकार र सेनाले आफूहरुमाथि व्यक्तिगत रूपमा लक्षित गरिएको बताएका छन्। उज्माले गृहमन्त्री मोहसिन नक्वीले परिवारलाई धम्की दिइरहेको दाबी पनि गरिन्।
इमरानका वकिलले गत हप्ता सर्वोच्च अदालतलाई जेलमा रहँदा उनको दाहिने आँखामा रगत जमेको कारण दृष्टिमा उल्लेखनीय क्षति भएको बताएका थिए। रिपोर्टहरूले अब उनको दृष्टि १५ प्रतिशत मात्र बाँकी रहेको संकेत गरेका छन्। अक्टोबर २०२५ सम्म खानको दृष्टि सामान्य थियो, तर त्यसपछि धमिलो दृष्टि, आँखामा पानी आउने समस्या भएको थियो। उपचारको बावजुद सुधार नदेखिएको परिवारको दाबी छ।
सर्वोच्च अदालतले फेब्रुअरी १२ मा विशेषज्ञ परीक्षण आदेश दिएको थियो। फेब्रुअरी १६ मा मेडिकल बोर्डले उपचारले सुन्निने कम भएको र दृष्टिमा सुधार भएको रिपोर्ट दिएको थियो। तर छोराहरू यो रिपोर्टमा शंका गर्छन्। उनले सेप्टेम्बरपछि पहिलो पटक फोनबाट कुरा गर्दा निराशा व्यक्त गरे र धेरै महिनादेखि आँखाको उपचार गराउन भनेर गरिएको अनुरोध अस्वीकार गरिएको बताए।
उनका छोराहरूले बुबालाई राम्रो स्वास्थ्य सेवा दिन, तुरुन्त अस्पताल स्थानान्तरण गर्न, निजी डाक्टरहरूलाई भेट्न अनुमति दिन र दुवै छोराहरूलाई पाकिस्तानको भिसा दिन माग गरेका छन्।
यसबिच पाँच देशका १४ पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पाकिस्तान सरकारलाई पत्र लेखेर पूर्वकप्तान समेत रहेका खानलाई राम्रो व्यवहार र उपचार दिन माग गरेका छन्।
पत्रमा भनिएको छ, ‘हामी हाम्रा सम्बन्धित देशका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हौं र इमरान खानलाई गरिएको कथित व्यवहार र जेलको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं। इमरान खान पाकिस्तानका पूर्वकप्तान हुनुका साथै विश्व क्रिकेटका एक महान खेलाडी पनि हुन्।’
पत्रमा अगाडि भनिएको छ, ‘इमरान खानको क्रिकेटमा योगदानलाई विश्वव्यापी रूपमा मान्यता दिइएको छ। कप्तानको रूपमा, उनले सन् १९९२ को क्रिकेट विश्वकपमा पाकिस्तानलाई ऐतिहासिक जित दिलाए, जुन सीप, लगनशीलता, नेतृत्व र खेल भावनामा आधारित विजय हो जसले पुस्ताहरूलाई प्रेरणा दिएको छ।’
पत्रमा ‘हामीमध्ये धेरैले उनीविरुद्ध खेल्यौं, उनीसँगै मैदान साझा गर्यौं, वा उनको चौतर्फी क्षमता, व्यक्तित्व र प्रतिस्पर्धात्मक भावनाका कारण उनलाई आदर्श मान्यौं। उनी विश्वका महान् अलराउन्डर र कप्तानमध्ये एक हुन्, जसलाई खेलाडी, प्रशंसक र प्रशासकहरूले समान रूपमा सम्मान गर्छन्’ भनेका छन्।
साथै पत्रमा ‘क्रिकेट बाहेक, इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा पनि काम गरे। उनले कठिन समयमा आफ्नो देशको नेतृत्व गरे। राजनीतिक दृष्टिकोणबाट, उनी आफ्नो देशको सर्वोच्च पदमा लोकतान्त्रिक रूपमा निर्वाचित हुने सम्मानका पात्र हुन्’ पनि भनिएको छ।
पत्रमा हालैका रिपोर्टहरूले उनको स्वास्थ्यमा गम्भीर चिन्ता उठाएको उल्लेख छ, विशेष गरी हिरासतमा दृष्टि गुमिरहेको कुराले पनि चिन्ता व्यक्त भइरहेको छ। ‘क्रिकेट खेलाडीको रूपमा, हामी निष्पक्षता, सम्मान र खेल भावनाको मूल्य बुझ्छौं जुन मैदानको सीमा नाघेको छ। हामी विश्वास गर्छौं कि इमरान खान जस्तो व्यक्तित्वलाई मर्यादा र आधारभूत मानवीय संवेदनशीलताका साथ व्यवहार गरिनुपर्छ।’
पत्रमा तीन माग उठाइएको छ, जसमा योग्य विशेषज्ञ डाक्टरहरूद्वारा तत्काल उपचार, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जेल अवस्था र परिवारसँग नियमित भेटघाट, तथा निष्पक्ष कानुनी प्रक्रियामा पहुँच रहेका छन्। पत्रमा भनिएको छ, ‘क्रिकेटले सधैं राष्ट्रहरू बीच पुलको रूपमा काम गरेको छ। मैदानमा हुने प्रतिद्वन्द्विताहरू स्टम्पहरू ड्र भएपछि समाप्त हुन्छन्, तर सम्मान कायम रहन्छ। इमरान खानले आफ्नो करियरभरि यो भावनालाई जीवित राखे। हामी अधिकारीहरूलाई आज पनि मर्यादा र न्यायको उही सिद्धान्तहरूलाई कायम राख्न आग्रह गर्दछौं। यो अपील कुनै पनि कानुनी प्रक्रियामा हस्तक्षेप नगरी खेल भावना र मानवताको भावनामा गरिएको छ।’
पीटीआईले उनको दाहिने आँखामा १५ प्रतिशत मात्र दृष्टि बाँकी रहेको दाबी गरेको छ। गत आइतबार सरकारले उनको आँखाको उपचारका लागि विशेष चिकित्सा संस्थामा सार्ने निर्णय गरेको थियो तर जेलभित्रै परीक्षण गरियो। केन्द्रीय मन्त्री अता तरारले भने, ‘इमरान खानको थप आँखा परीक्षण र उपचार उनको चलिरहेको उपचारको अतिरिक्त एक विशेष चिकित्सा संस्थामा आँखा डाक्टरहरूद्वारा गरिनेछ। विस्तृत प्रतिवेदन सर्वोच्च अदालतमा पनि पेश गरिनेछ।’
सर्वोच्च अदालतले विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा उनको आँखा परीक्षण गर्न आदेश दिएको थियो। आदेशपछि उनलाई दुई छोराहरूसँग कुरा गर्न अनुमति दिइयो। पीटीआईले उपचारको विरोध गर्दै उनको रिहाइ माग गरिरहेकको छ। एजेन्सीको सहयोगमा
प्रकाशित: ६ फाल्गुन २०८२ १२:२६ बुधबार





