२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

देश बनाउने र बिगार्नेबिचको जनमत संग्रह हो निर्वाचन : ईश्वर पोखरेल

काठमाडौं निर्वाचन क्षेत्र नं ५ उम्मेदवार एवं नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन्।

पोखरेलले अहिले मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिगबाट बाहिर रहेकाले त्यसलाई सही ठाँउमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनलाई सही परिणाम दिने अवसरको रूपमा परिणत गर्नुपर्ने बताएका हुन्।

‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रूपमा लिनुपर्छ जस्तो लाग्छ। त्यो जनमत संग्रह भनेको देश बनाउनेहरू र बिगार्नेहरूबिचको जनमत संग्रह हो। यस कारण नेकपा (एमाले)ले देश बनाउनेहरूको प्रतिनिधित्व गर्छ,’ पोखरेलले भने। उनले केही शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोसिस गरिरहेको पनि बताए।

‘देश बिगार्नेहरू पनि छन्। र तिनीहरू पनि यो अस्तव्यस्त परिस्थिति निर्माण गरेर लाभ प्राप्त गर्ने कोसिस गरेका छन्। तर हाम्रो कोसिस, नेकपा एमालेका कोसिस के भने देश बनाउनेहरूले निर्णायक शक्तिको रूपमा आउनु पर्छ। हामी यो निर्वाचनलाई त्यो परिणाममा पुर्याउन चाहन्छौँ,’ पोखरेलले भने।

पोखरेलले आगामी निर्वाचनमा सहभागी भएर मुलुक रुपान्तरणको अभियानमा साथ दिन समेत आह्वान गरे। देशभन्दा ठूलो कुरा अरू केही हुन नसक्ने भन्दै पोखरेलले हित विपरीत भइरहेका गतिविधिविरुद्ध देशभक्तहरू एक ठाउँमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको धारणा राखे।

अहिलेको निर्वाचन देश बनाउने र देश बिगार्नेबिचको जनमत संग्रह भएकाले देश बनाउने पक्षलाई जनताले साथ लिने उनको विश्वास छ। एमालेले शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, रोजगारीको क्षेत्रमा, उत्पादनको क्षेत्रमा, स्वरोजगारीको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा, यी यस्ता विविध क्षेत्रमा– कृषिमा, उद्योगमा, पूर्वाधारमा, ऊर्जामा केन्द्रित भएको पोखरेलको भनाइ छ।

प्रकाशित: १७ फाल्गुन २०८२ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App