नेपाली कांग्रेसले केन्द्रीय कार्यालयको कायममुकायम (कामु) मुख्य सचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई दिएको छ। पार्टी सभापति गगनकुमार थापाले बुधबारदेखि लागू हुने गरी दुलाललाई कामु मुख्य सचिव तोकेका हुन्।
यसअघि केन्द्रीय कार्यालयको सचिव पदमा कार्यरत दुलाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मुख्य सचिवको जिम्मेवारी दिइएको हो।
पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (१०), नियमावली २०७६ को नियम ४६ (ग) तथा कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) बमोजिम उनलाई सो जिम्मेवारी सुम्पिएको पार्टी सचिव प्रकाश शर्माले जानकारी दिए।
दुलाललाई जिम्मेवारी दिनुअघि सभापति थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका थिए। पौडेलले गत माघ ८ गते पदबाट राजीनामा दिएका थिए।
वि.सं. २०७३ सालदेखि मुख्य सचिवको भूमिकामा रहेका पौडेलको राजीनामा स्वीकृत गर्दै सभापति थापाले उनको कार्यकालमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेका छन्।
पौडेल बाहिरिएसँगै रिक्त रहेको सो पदमा तत्कालका लागि दुलालले प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।
प्रकाशित: २१ माघ २०८२ १६:५२ बुधबार





