युवाहरूले प्रतीक्षा गरिरहेको दसौं राष्ट्रिय खेलकुदको आयोजना छिटै गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ।
समितिको बिहीबार बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयले खेलकुद आयोजना गर्न ढिलासुस्ती गरेको भन्दै छिट्टै यसको आयोजना गर्न निर्देशन दिएको हो। समितिका अधिकांश सदस्य तथा सांसदहरूले पटकपटक विभिन्न बहानासँगै समस्या देखाउँदै खेलकुद मन्त्रालयले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद आयोजनामा चासो नदेखाएको भन्दै ध्यानाकर्षण गराए।
‘खेलकुदमा युवाहरूको चासो विशेष छ। यसलाई विकास गर्नु सरकारको दायित्व हो। तर सरकारले उल्टै विनियोजित बजेटमा पनि २५ प्रतिशत कटौती गर्नु खेलप्रति चासो नभएको देखियो। यस्तै प्रवृत्तिले गर्दा नै युवाहरूमा वितृष्णा सिर्जना भएको हो,’ समितिका सदस्य तथा माओवादीका सांसद महेन्द्र राय यादवले भने।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पनि पटकपटक निर्देशन दिँदा पनि खेलकुद आयोजनामा सक्रियता नदेखाएको भन्दै उनको तिखो आलोचना गरे। ‘मन्त्रीज्यूसँग मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को राम्रो टिम छ। तर, पनि उहाँलाई पटकपटक निर्देशन दिनु परिरहेको छ।
मैले दुःख साथ भन्न परिरहेको छ, जबसम्म तपार्इंले कमिटमेन्ट गर्नुहुन्न जतिसुकै संसद् या संसदीय समितिले निर्देशन दिए पनि काम बन्दैन,’ सांसद धनराज गुरुङले भने,‘हाम्रा गाउँघरतिर कुभिन्डोले खुट्टा हालेर पनि बोका बन्छ भन्छन्।’
सांसद धनराजले मन्त्रालयसँग राम्रो टिम भए पनि दसौं राष्ट्रिय खेलकुद आयोजना गर्न नसक्नु दुःख लागेको बताए। मन्त्री चौधरीलाई निर्देशन मात्र चाहिने अवस्था देखिएको भन्दै उनले आलोचना पनि गरे। खेलकुद आयोजनामा ढिलासुस्ती गरेको भन्दै समितिले बिहीबार खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलाई बोलाएको थियो।
सो बैठकमा नेपाली कांग्रेसकै अर्का सांसद डिगबहादुर लिम्बूले खेलकुदका पदाधिकारी बीचमा एकआपसमा शंकाको अवस्था रह्यो भने काम अगाडि नबढ्ने भन्दै आपसी समझदारी र छलफलबाट अगाडि बड्न आग्रह गरे।
राष्ट्रिय खेलकुद परिषद्को संरचनामा नै परिमार्जन नगर्ने हो भने यो अवस्था रहिरहने उनको भनाइ थियो। मन्त्री नै अभिभावक रहेकाले यसको व्यवस्थापनामा अग्रसरता देखाउनुको विकल्प नरहेको सांसद लिम्बूको भनाइ थियो। राखेपको उपाध्यक्ष आफैंले समितिमा आएर प्रश्न गर्नु राम्रो नहुने सांसद लिम्बूले बताए।
बैठक बसेर छलफलबाट समाधान निकाल्नुपर्नेमा रस्साकस्सी नगर्न उनको आग्रह छ। १९औं एसियाली खेलकुदमा पनि त्यो अवस्था आउँदा आपैmँले नेतृत्वदायी भूमिका लिएर काम गरेको पूर्वखेलकुदमन्त्रीसमेत रहेका लिम्बूले बताए। सानातिना कुरामा नअल्झीकन काम अगाडि बढाउन पनि उनले निर्देशन दिए।
नेकपा एमालेकी सांसद दीपा शर्माले खेलकुद आयोजना गर्न समिति पनि सहयोग गर्न तयार रहेको बताएको स्मरण गरिन्। सात महिना पछाडि धकेलिँदा पनि पूर्ण तयारी गर्न नसक्नु दुःखको विषय रहेको सांसद शर्माको भनाइ छ।
माओवादीकी सांसद ज्ञानु बस्नेत सुवेदीले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि मन्त्रीसँग कुनै खाका र योजना अझैं पनि नदेखिएको भन्दै दुःख व्यक्त गरिन्। समस्याकबारे छलफल गर्नुपर्ने ठाउँमा राखेपका पदाधिकारी भागेको अवस्था देख्दा खेलकुद आयोजनामा चासो नदेखिँदा शंका उत्पन्न भैरहेको सांसद बस्नेतको भनाइ छ। एमालेका सांसद छविलाल विश्वकर्माले खेलकुद आयोजना गराउनका लागि समितिको सक्रियताप्रति विशेष धन्यवाद दिए।
छोटो समयमा नै कामका चाङ भएकाले सक्रियतापूर्वक काम गर्नुपर्ने उनले औंल्याए। अविश्वास गरेर अल्झन नहुने र समयमा नै खेलकुद आयोजना गर्न उनले आग्रहसमेत गरे। माओवादीका सांसद रेखा शर्माले मन्त्रीले पटकपटक निर्देशन मात्र खोज्ने प्रवत्ति राम्रो नभएको बताइन।
मन्त्रालय मात्र नभई सिंगो सरकार नै लागेर राष्ट्रिय खेलकुद सम्पन्न गर्न लाग्नुपर्ने शर्माले बताएकी थिइन्। पटकपटक खेलकुद आयोजनाबारे अन्योलता सिर्जना गरेर मन्त्री मन्त्रालयमा हराउन नहुने सांसद शर्माको भनाइ थियो।
खेलकुदमन्त्री तेजुलाल चौधरीले दसौं राष्ट्रिय खेलकुद आयोजनाबाट मन्त्रालय पन्छिन नखोजेको उल्लेख गर्दै अर्थमन्त्रालयले छुट्याइएको बजेटमा २५ प्रतिशत काटिदिँदा समस्या उत्पन्न भएको बताए।
समितिको बैठकमा मन्त्री चौधरीले राष्ट्रिय खेलकुद आयोजना गर्नबाट आफू पन्छिन नखोजेको र दसौं खेलकुदका लागि छुट्याएको ६० करोड बजेटमा २५ प्रतिशत काटिई त्यसको सुनिश्चिततामा केही समस्या हुँदा प्रभावित भएको बताए। मन्त्री चौधरीले काटिएको बजेट नआएको खण्डमा खर्च भएको रकम कहाँबाट तिर्ने भन्ने समस्या हुने पनि उल्लेख गरे। यही कारण केही समय तयारी प्रभावित भएको पनि उनको स्वीकारोक्ति थियो। बजेट पनि खर्च गर्ने र उपलब्धि पनि नहुने अवस्था आउन नदिने गरी काम गर्दा दसौंको आयोजनामा ढिलाइ भएको मन्त्री चौधरीको दाबी छ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुद आयोजना गर्न अवरोध पुगेका केही प्राविधिक पक्षमा काम भइरहेकाले खेलकुद सञ्चालनका निम्ति आवश्यक प्रक्रिया पनि अगाडि बढ्ने विश्वास व्यक्त गरे।
सबै तयारी गरिरहँदा पनि केही प्राविधिक कारणले दसौं राष्ट्रिय खेलकुदको आयोजनामा केही अलमल देखिएको सदस्यसचिव घिसिङले उल्लेख गरे। अर्थ मन्त्रालयबाट खेलकुद आयोजनाका लागि यसअघि छुट्याइएको ६० करोड बजेटमा २५ प्रतिशत रोक्का भैरहेको अवस्थामा आयोजनाका बारेमा केही अल्योलता सिर्जना भएको घिसिङको भनाइ छ।
फेरि काटिएको बजेट फुक्का गरिदिनका लागि राखेपले गत चैत १७ गते नै खेलकुद मन्त्रालयमार्पmत पत्र पठाउने प्रक्रियामा नै जुट्नुपरेको उनी बताउँछन्। काटिएको बजेटबारे सुनिश्चितता नहुँदा के गर्ने भन्ने बारेमा अलमल भए पनि अहिले अर्थ मन्त्रालयले पनि त्यसलाई फुकुवा गर्ने बताएको उनको भनाइ छ।
घिसिङले बजेट सूचना प्रणाली (एलएमबिआइएस) मा इन्ट्री गर्नका लागि खेलकुद मन्त्रालयलाई अनुरोध गरिसकेको र त्यसबारे मन्त्रालयले आवश्यक कार्य गरिरहेको सूचना प्राप्त भएको बताएका छन्। घिसिङले यसपल्ट जेठमा निर्धारण गरिएको समयमा सम्पन्न गर्ने गरी राखेपले काम गरिरहेको पनि समितिलाई जानकारी गराएका थिए।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार सबै प्रक्रियाका काम टुङ्ग्याउनका लागि ४० दिनको समयावधि पर्याप्त नहुँदा चैतमा तय गरिएको दसौं राष्ट्रिय खेलकुदको आयोजना गर्न नसकिने भएकाले जेठको ३ देखि १० गतेसम्म तोकिएको बताए।
फेरि अर्थ मन्त्रालयको गत फागुन ८ गतेको राय सहमतिअनुसार खर्चको नम्र्स र शीर्षकगत बाँडफाँडसम्बन्धी निर्णयहरू लिनुपर्ने परिस्थिति आएको र त्यसपछि राखेपको १५ गतेको बोर्ड बैठकले ती निर्णय गरिएको समितिलाई जानकारी गराए। ती निर्णय भएसँगै दसौं आयोजनाका लागि कामहरू तीव्र गतिका साथ अगाडि बढाएको र अहिले मूल आयोजके समितिका साथै कार्यसम्पादन समितिको बैठकहरू भैरहेको उनको भनाइ छ।
प्रकाशित: २२ चैत्र २०८१ ०७:५२ शुक्रबार