११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री पाण्डेले 'पत्रकार नबोलाउने भए मात्रै बैठकमा आउँछु' भनेका हुन् ?

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले एक्समा लेखे- संसदीय समितिमा बोलाउँदा ‘प्रेस नआओस् भने मात्र जान्छु’ भन्ने मन्त्रीको शर्त गम्भीर छ। यस्ता शर्त त पूर्वअख्तियार प्रमुखले राख्थे। लोकतन्त्रको डर प्रेस हो ? विस्तारै चिन्छन् जनताले।

उनले नेपाली कांग्रेसकै तर्फबाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्रीप्रसाद पाण्डेलाई इङ्गित गरेका हुन्।

यसबारे थप सोध्दा सांसद बजगाईंले नागरिकसँग भने, 'उहाँ (मन्त्री पाण्डे) ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानका लागि पत्रकार नआऊन् भन्ने शर्त राख्नुभयो रे! समिति सभापतिजीसँग कुरा भएको थियो। यो त नियत राम्रो छैन भन्ने देखियो।'

समिति सभापति रामहरि खतिवडाले पनि मन्त्री पाण्डेसँग कुरा भएको स्वीकारे। तर, उनले बैठक नभई अनौपचारिक भेटघाटका बारेमा मात्रै कुरा भएको दाबी गरे। 'बैठक औपचारिक वा अनौपचारिक भन्ने नै हुँदैन। आज अनौपचारिक रूपमा भेटघाटकै विषय मात्रै थियो,' उनले भने।

तर, सांसद बजगाईंले भने बैठक बोलाइएको तर, कोरम नपुगेकाले नबसेको बताए। अरु समितिको पनि बैठक बोलाइएकाले कोरम नपुगेको र त्यसमाथि मन्त्री पाण्डेले पनि शर्त राख्दा अझ कोरमको दु:ख भएको उनले बताए।

'मन्त्रीसँग पोखरा एयरपोर्टको दैनिक घाटालगायतका विषयमा कुराकानी गर्ने भनिएको थियो रे। तर, उहाँले पत्रकार नबोलाउनका लागि भन्नुभएछ,' उनले भने।

मन्त्री पाण्डेको स्वकीय सचिव दिनेश शाही भने यो पूरै मिथ्या रहेको बताउँछन्। 'हाम्रो आज जिल्ला बाजुरा जाने प्रोग्राम छ। हामी एयरपोर्ट पुगिसकेका छौँ। यो पूरै मिथ्या हो। राजेन्द्र बजगाईंले जे भन्नुभयो, त्यो होइन,' शाहीले भने।

त्यसो त पहिल्यैदेखि पाण्डे र बजगाईंबीच त्यति राम्रो सम्बन्ध छैन। बजगाईंले पाण्डेलाई कारबाही गर्नका लागि पार्टीमा समेत उजुरी दिएका छन्।

प्रकाशित: २७ चैत्र २०८१ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App