प्लानिङ ब्वाइज युनाइटेड र वीरगन्ज युनाइटेडले बुधबार सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जित निकालेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजले ब्वाइज युनियन र वीरगन्ज युनाइटेडले बाँसबारी क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेका हुन्। यससँगै वीरगन्जले आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ। तर, वीरगन्जको यो दोस्रो जित हो। चार खेलबाट आठ अंक जोड्दै वीरगन्ज तेस्रो स्थानमा उक्लिएको छ।
पराजित बाँसबारी समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ। वीरगन्जको जितमा विवेक चौधरी र अमर डंगोलले गोल गरे। बाँसबारीका लागि सन्दीप लिम्बूले एक गोल फर्काए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो ।
तर, वीरगन्जले दोस्रो हाफको सुरुमा नै गोल गर्यो। ६८औं मिनेटमा विवेकको गोलमार्फत वीरगन्जले अग्रता लिएको हो। ८५औं मिनेटमा अमरले टोलीको अग्रता दोब्बर बनाए। तर, खेलको अन्तिम समयमा बाँसबारीले गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि सफलता पाउन भने सकेन।
सन्दीपले ९०औं मिनेटमा गोल गरेका हुन्। प्लानिङ ब्वाइज युनाइटेडले पनि सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो विजययात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ। बुधबार प्लानिङ ब्वाइजले ब्वाइज युनियनलाई हराउँदै सफलता जारी राखेको हो।
जितसँगै चार खेलबाट १२ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ। प्लानिङ ब्वाइजको दोस्रो स्थानको श्री भगवती क्लबभन्दा दुई अंक बढी हो। यता पहिलो पराजय बेहोरेको ब्वाइज युनियन चार खेलबाट तीन अंकका साथ नवौं स्थानमा यथावत् छ।
खेलको १२औं मिनेटमा प्रतापसिंह राईको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो। फागुराम थारुको थ्रु पासलाई उनले पेनाल्टी बक्सबाहिरबाटै पोस्टको दिशा दिएका हुन्। यससँगै पहिलो हाफमा प्लानिङ १–० ले अगाडि रह्यो।
दोस्रो हाफको सुरुआतमै सञ्जीव लामाले ब्वाइज युनियनलाई बराबरीमा ल्याए। उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई प्लानिङ ब्वाइजका गोलकिपर युवराज पुरीले बचाउने कुनै अवसर नै पाएनन्। प्लानिङका लागि रुजन न्यौपानेले ५४ औं मिनेटमा गोल गरे र २–१ ले अगाडि बढाए। प्रतापको कर्नरलाई उनले हेडमार्फत जाली चुमाएका हुन्। त्यसपछि थप गोल हुन सकेन र प्लानिङले जित निकालयो।
प्रकाशित: २१ चैत्र २०८१ ०९:०८ बिहीबार