काठमाडौंमा पहिलोपटक आयोजित ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले हात पारेका छन्। शुक्रबार होटल रोयल सिंगी, दरबारमार्गमा भएको फाइनलमा उनले क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई २–० ले पराजित गरे। ‘बेस्ट अफ थ्री’ आधारको फाइनलमा क्षितीजले दुवै खेल जितेर उपाधि सुनिश्चित गरे।
सेमिफाइनलमा क्षितीजले पुनम प्रसाइँलाई र मिलनले सुजन काफ्लेलाई हराएका थिए। हिमालयन चेस एकेडेमीले आयोजना गरेको यो नेपालको पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हो, जुन पूर्वविश्व च्याम्पियन बबी फिसरले सुरु गरेका थिए। विजेता क्षितीजले २५ हजार, उपविजेता मिलनले ९,६०० र सेमिफाइनलिस्ट पुनम र सुजनले समान ६,४०० रुपैयाँ पुरस्कार पाए।
हिमालयन चेस एकेडेमीको पहिलो वार्षिकोत्सवमा आयोजित अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते। स्वीस प्रणालीमा नौ चरण चलेको यो प्रतियोगितामा राजनले ७.५ अंकसहित अपराजित रहँदै पहिलो स्थान हासिल गरे। मुहान नरसिंह श्रेष्ठले पनि ७.५ अंक जोडे तर टाइब्रेकरमा पछि परे। अभिक शाह ७ अंकसहित तेस्रो भए। राजनले १५ हजार, मुहानले ७,५०० र अभिकले ६,००० रुपैयाँ पुरस्कार पाए।
ब्लिज कपको महिलातर्फ कुसुम तामाङ पहिलो भइन्। विभिन्न उमेर समूहमा पनि विजेता घोषित भए: गर्ल्स यू–८ मा रुबेश्री चौलागाइँ, यू–१२ मा निहाना श्रेष्ठ, यू–१४ मा नायुमा मगर, यू–१६ मा प्रज्ञा पन्त; ब्वाइज यू–८ मा शुभांग प्रधान, यू–१० मा अभियान राई, यू–१२ मा दीपन मैनाली, यू–१४ मा प्रवीर केसी र यू–१६ मा अनमोल राई। फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडमा दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए। प्रतियोगितामा ५० खेलाडी सहभागी थिए।
वर्षका उत्कृष्ट खेलाडी र सम्मान
हिमालयन चेस एकेडेमीले सात्विकमान तुलाधरलाई ‘प्लेयर अफ दि इयर २०२४’ घोषित गर्दै विभिन्न आठ अवार्ड प्रदान गरेको छ। प्रेमविक्रम अधिकारीले फेयर प्ले र अनलाइन एरिना दुई विधामा अवार्ड जिते। नायुमा मगर (कन्जेनियालिटी), प्रवीर केसी (ट्याक्टिकल टाइटन), निहाना श्रेष्ठ (क्वीन्स अफ दि हिमालयज), शुभांग प्रधान (राइजिङ स्टार) ले पनि अवार्ड पाए। नेपालका पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई नगदसहित लाइफटाइम एचिभमेन्ट सम्मान दिइयो। पुरस्कार वितरण राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसहित विभिन्न विशिष्ट व्यक्तिले गरे।
एकेडेमीको एक वर्ष
२०८० चैत १ मा स्थापित हिमालयन चेस एकेडेमीले एक वर्षमा सात प्रतियोगिता आयोजना गरेको छ, जसमा एसईई कप, हिमालयन तीज चेस टुर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, फ्रिस्टाइल चेस र ब्लिज कप समावेश छन्। एकेडेमीले थापाथलीस्थित चेस हलमा १०० बढीलाई प्रशिक्षण दिइरहेको छ भने भक्तपुरको कौशलटारमा शाखा सञ्चालनमा छ। प्रत्येक बुधबार महिलालाई निःशुल्क प्रशिक्षण र स्कुल तथा समुदायमा कार्यशाला चलाउँदै चेस प्रवर्द्धनमा योगदान दिइरहेको छ।
प्रकाशित: १ चैत्र २०८१ २१:१५ शुक्रबार