त्रिभुवन आर्मी क्लबका सुस्मिता थापा र पूर्णबहादुर मगरले २४औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा प्याटर्नतर्पm स्वर्ण जितेका छन्।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सुस्मिता र पूर्णबहादुरले ब्ल्याक बेल्ट दोस्रो डानमा स्वर्ण जितेका हुन्। पुरुष ब्ल्याक बेल्ट दोस्रो डानमा गण्डकीका मनीष रश्मिले रजत तथा लुम्बिनीका विश्व सूर्यवंशी र बागमतीका निपा शर्माले क्रमशः रजत र कांस्य जिते।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको यसै विधाको महिलामा भने लुम्बिनीकी अविक्षा श्रेष्ठले रजत पाउँदा कोसीकी सोनु राई र आर्मीकी रिना धिमालले कांस्य पदक जिते।
महिला तेस्रो डानतर्फ व्यक्तिगत प्याटर्नमा एपिएफकी शान्ति खत्रीले स्वर्ण र लुम्बिनीकी साया थापामगरले रजत पदक जिते। आर्मीकी कोपिला स्याङ्तानले कांस्य पदकमा चित्त बुझाइन्। यसै विधाको पुरुषमा आर्मीका सुमन मगरले स्वर्ण जित्दा गण्डकीका दिक्पाल बुढामगरलाई पछि पारे।
कोसीकै दिक्पाल बुढामगर र लुम्बिनीका राजन रेग्मीले कांस्य पदक जिते। आर्मीका रवीन्द्र थिङ सिनियर पुरुष प्याटर्नको ग्रिन बेल्टमा शुक्रबार पहिलो भएका छन्। कर्णाली प्रदेशका निशान रोका दोस्रो तथा एपिएफका सुजन तामाङ र गण्डकी प्रदेशका ओम गुरुङ तेस्रो भए।
सिनियर पुरुष ब्लु बेल्टमा आर्मीका खेमबहादुर थापा पहिलो, एपिएफका सन्जेश कुँवर दोस्रो तथा कर्णालीका कौशल पाण्डे र लुम्बिनी प्रदेशका विजय बुढा तेस्रो भए। रेड बेल्टमा एपिएफका सुमन रानामगरले स्वर्ण, आर्मीका विनोद रानाभाटले रजत तथा गण्डकीका प्रतीक राई र लुम्बिनीका रियान श्रेष्ठले कांस्य जिते। पहिलो डान ब्ल्याक बेल्टमा आर्मीका भीमबहादुर तामाङ पहिलो, एपिएफका योगेन्द्र धिमाल दोस्रो तथा बागमती प्रदेशका सौरव विक र कर्णालीका विराज सुवाल तेस्रो स्थानमा रहे।
२४औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा प्रथम यु–१५ राष्ट्रिय विद्यालय तेक्वान्दो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए। सो अवसरमा राखेपका बोर्ड सदस्य अञ्जन धमला र प्रकाशकुमार कुसारीले आइटिएफ खेल देशभित्र लोकप्रिय रहेको भन्दै विद्यालय खेलकुदमा पनि समावेश गर्नुपर्ने औंल्याए। सो अवसरमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्की र विभिन्न खेल संघका पदाधिकारीको उपस्थिति रहेको थियो।
प्रतियोगिताको फाइटतर्फ पुरुषमा १२ तौलसमूह र महिलामा १० तौलसमूहमा गरी कुल २२ तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। प्याटर्नमा भने महिला र पुरुषको एकल प्याटर्न र ग्रुप प्याटर्नमा प्रतिस्पर्धा भैरहेको महासचिव घमबहादुर थापामगरले बताए।
सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, एपिएफ तथा पुलिसका गरी कुल दुई ७७ खेलाडीले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको शीर्ष तीन टोलीले ट्रफी प्राप्त गर्नेछन्। बेस्ट फाइटरले पनि ट्रफी पाउने संघका कोषाध्यक्ष विक्रम बाठामगरले जानकारी दिए।
प्रकाशित: १७ फाल्गुन २०८१ ०७:१३ शनिबार





