कोशी खेलकुद विकास बोर्डले आयोजना गरेको ‘प्रथम कोशी खेलकुद महोत्सव’ मंगबारदेखि विराटनगरमा सुरु भएको छ ।
बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवअन्तर्गत विराटनगर र झापाको दमकमा विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुनेछ । फाल्गुन १८ गतेसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा प्रदेशभरबाट विभिन्न खेलमा १ हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ । खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्सको सडक दौड र डोरीतानका खेल सम्पन्न भएका छन् ।
५ किलोमिटर सडक दौडको पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बूले १५ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम, पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रा र ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । महिलातर्फ खोटाङकी दीपा बस्नेतले १९ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, पाँचथरकी पुष्पाले २० मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र संखुवासभाकी सुनकला राईले २० मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।
त्यस्तै, १ सय मिटर दौडको पुरुषतर्फ झापाका सुजन मण्डल ११.४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, सुनसरीका सुमित गच्छदारले ११.७० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र मोरङका सन्तोषकुमार सहनीले १२.१० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । महिलातर्फ मोरङकी बिनिशा रिजालले १३.४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, सुनसरीकी आरती चौधरीले १४.५० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र इलामकी रश्मी राईले १४.६ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।
त्यसैगरी, डोरीतान प्रतियोगिताको उपाधि झापाले जितेको छ भने सोलुखुम्बु दोस्रो भयो । विजेता तथा उपविजेताले क्रमश ५० हजार र २५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
खेलकुद महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालयस्तरबाटै खेलकुदलाई पाठ्यक्रममा समावेश गरेर लग्नुपर्ने बताए । उनले खेलकुद सम्भावना युक्त क्षेत्र रहेको भन्दै निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्षसमेत रहेका पाँचकर्ण राईले खेलकुद महोत्सवलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने बताए । उनले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्नसमेत सहयोग पुग्ने बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डले ‘खेल गति नै खेलाडीको प्रगति हो’ भन्ने मान्यतासाथ महोत्सव आयोजना गरेको र महोत्सवले निरन्तरता पाउँदै आगामी वर्ष अझ भव्य हुने बताए ।
महोत्सवमा महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस तथा डोरीतानलगायतको खेल समावेश छन् ।
प्रकाशित: १३ फाल्गुन २०८१ १८:४० मंगलबार