२ चैत्र २०८१ शनिबार
image/svg+xml ८:७ पूर्वाह्न
खेल

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा

आगामी फेब्रुअरी १७ देखि घरेलु मैदानमा सुरु हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको तयारी पूरा भएको छ।

आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालामा चार देशले प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप सुरु हुँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै तयारी पूरा भएको जनाएको हो।

एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको उल्लेख गरेको छ। फिफा अन्तर्राष्ट्रिय विन्डोमा चार देश सम्मिलित च्याम्पियनसिप हुँदै छ। किर्गिस्तान, म्यानमार र लेबनानलाई बोलाएर नेपालले तयारी गर्न लागेको हो। नेपालले महत्त्वाकांक्षा राख्दै एसियन कप र विश्वकप खेल्ने तयारी गरेको छ।  

सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो। यद्यपि, म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन्। म्यानमार हाल फिफाको ५५औं स्थानमा छ। जुन नेपालभन्दा ४८औं स्थान माथि हो। किर्गिस्तान १२८औं र लेबनान १३४औं स्थानमा छन्। त्यसैले ठूलो महत्त्वाकांक्षा राखेको एन्फाले तुलनात्मक रूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो। यद्यपि, एन्फाका प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले अहिले विन्डोमा यो टोली पाएकाले खेल्न लागिएको उल्लेख गर्दै आगामी विन्डोमा राम्रो टोलीसँग खेल्ने बताए। उनले छोटो समय रहेकाले राजेन्द्र तामाङलाई नै महिला टोलीको प्रशिक्षणको जिम्मेवारी दिएको पनि उल्लेख गरेका छन्।

तामाङले राजीनामा दिए पनि तयारीका लागि छोटो समय भएकाले उनको विकल्प नभएको मिश्रको भनाइ छ। ‘उहाँले मिडियामार्पmत राजीनामा दिनुभएको हो। एन्फामा दिनुभएको छैन। त्यसमाथि पनि हामीसँग छोटो समय थियो। अन्य प्रशिक्षकलाई टोली बुझ्न र मिलाउन समय लाग्ने भएकाले उहाँलाई नै प्रशिक्षण हेर्न आग्रह गरेका हौं,’ मिश्रले भने।

घरेलु मैदानमा भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा बाङ्लादेशसँग पराजित भएपछि तामाङले राजीनामा दिएका थिए। उनले खेलाडीले भनेको नमान्ने आरोप लगाउँदै पत्रकार सम्मेलनमार्पmत नै राजीनामा घोषणा गरेका हुन्। तर, एन्फाले तामाङको विकल्प नभएको भन्दै उनकै प्रशिक्षणमा तयारी गराइरहेको छ।

नेपाली महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र स्टार स्ट्राइकर सावित्रा भण्डारीले यो च्याम्पियनसिपमा खेल्ने नखेल्ने बारे एन्फाले अहिलेसम्म स्पष्ट पारेको छैन। एन्फाले पहिलोपल्ट गर्न लागेको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्न ब्रान्ड लोजिकलाई टिकेटिङ राइट एक करोड ३५ लाखमा र ब्रोडकास्टिङ राइट ६६ लाखमा बिक्री गरेको छ।

छुट्टाछुट्टै टेन्डरमार्फत बिक्री गरेको राइटअनुरूप ब्रान्ड लोजिकलाई दुई अधिकार बेचेको एन्फाका प्रवक्ता शुरेश शाहले जानाकारी दिए। उनले यसपल्ट दशरथ रंगशालामा क्षमताभन्दा बढी दर्शक प्रवेश रोक्नका लागि विशेष तयारी गरेको दाबी गरेका छन्। एन्फाले टेलिभिजन ब्रोडकास्टिङ, मार्केटिङ, टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिक प्रालिलाई दिएको जनाएको छ।

टिकटिङ पार्टनरको रूपमा अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती रहेको एन्फाले उल्लेख गरेको छ। प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्पm पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ।

आगामी फेब्रुअरी १३ मा किर्गिस्तान नेपाल आउने भएको छ। अन्य दुई टोली भने त्यसको भोलिपल्ट आउनेछन्। यी टोलीले सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदानमा अभ्यास गर्ने भएका छन्। प्रतियोगिताका लागि दुई करोड ५० लाख ७६ हजार अनुमानित बजेट रहेको एन्फाको भनाइ छ। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। उक्त खेलहरू दिउँसो २ बजे र ६ बजे खेलाइने भएको छ। अहिले राजेन्द्र तामाङको प्रशिक्षणमा ३० सदस्यीय नेपाली टोलीले तयारी गरिरहेका छन्।

प्रकाशित: ३० माघ २०८१ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App