३ चैत्र २०८१ आइतबार
image/svg+xml ५:१८ पूर्वाह्न
समाज

चट्टान छिचोलेर सडक बनाउँदै सेना

कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोला सम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ। त्यसमध्ये ६.४८५ किलोमिटर ट्र्याक खन्ने काम भइसकेको छ।

नेपाल सरकारले वार्षिक बजेट कम पठाउँदा काम छिटो नभएको नेपाली सेनाले जनाएको छ। सरकारले प्रत्यक वर्ष कम बजेट पठाउने गरेको छ। कर्णाली नदीदेखि २१ सय मिटर माथिबाट करिडोरको ट्र्याक खोलिएको छ। तर करिडोरको मापदण्डअनुसार कर्णाली नदीको किनारैकिनार सडकको ट्र्याक खोल्नुपर्ने मान्यताले फेरि किनारबाट सडक खन्ने अवधारणा अघि सारिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

लालिबगर–दुल्लिकुन्ना तथा घाटाचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड दुवै गरी आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म ५९ करोड, ७८ लाख २८, हजार ५२० रुपैयाँ खर्च भएको छ।

२०७८ असोज ५ गते र फागुन १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त ठाउँमा नेपाली सेनालाई कामको जिम्मेवारी दिई घाटाचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड (११.०५ किमि) सडक खन्न लागिएको हो।

धेरै चट्टानी भाग भएकाले अहिले तीन ठाउँबाट काम सुरु गरिएको छ। सेनाले चट्टानी भाग रहेको कालीकोटको घाटाचौरबाट बाजुराको भुक्काखोलासम्म ११.५ किमि सडक निर्माण गरिरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कर्णालीको ‘ग्रोथ एक्सिस’ का रूपमा रहेको कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्ला सलिसल्लासम्मको एक सय २२ किलोमिटर सडक नेपाली सेनाले सात वर्षमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ। माथिल्लो खण्डमा बाँकी रहेको सलिसल्लादेखि हिल्सासम्मको एक सय ५९ किलोमिटर सडक निर्माण जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले लिएको छ। यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा एक अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ।

नेपाली सेनाको निर्माण कार्यदलले पलाँताको घाटाचौरदेखि बाजुरासम्मको ११.०५ किलोमिटर खण्ड निर्माण गरिरहेको पलाँता गाउँपालिकाका स्थानीय टक्कबहादुर बमले बताए। यो सडकले कालीकोट जिल्लाको खुलालुदेखि बाजुरा, हुम्ला हुँदै चीनको सीमाना हिल्सासम्म जोड्छ।

११ वर्षदेखि सडक विभागले निर्माण कार्य सुरु गरेको आयोजनामा करोडौं बजेट खर्चिए पनि अपेक्षित काम हुन नसकेपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिइएको थियो। २०७१ चैत ५ मा सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो। चैत ९ गतेबाट सेनाले निर्माण कार्य सुरु गरेको थियो।

२०५७ सालमा उपप्रधानमन्त्री रामचन्द्र पौडेल (हाल राष्ट्रपति) ले शिलान्यास गरेको कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको सडक निर्माण कार्यले १५ वर्षसम्म पनि गति लिन नसेकेपछि नेपाली सेनालाई जिम्मा दिइएको थियो। अहिले सडक निर्माणले गति लिँदै छ।

कर्णाली करिडोर निर्माण पूरा भएपछि चिनसँग सीमा जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमा जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक बन्नेछ। यसको कुल लम्बाइ पाँच सय ३० किलोमिटर छ। यो सडक निर्माणपछि पर्यटन र व्यापारका दृष्टिले तीन देशको ट्रान्जिट बन्ने पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए। ‘कर्णाली करिडोर निर्माण भए कर्णाली तीन देशको व्यापारिक मूलधार बन्न सक्छ,’ उनले भने, ‘पर्यटन र व्यापारको दृष्टिले यसको विशेष महत्त्व छ।’

प्रकाशित: २ चैत्र २०८१ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App