पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ।
वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरूको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ।
सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०/०८१ मा ८० जना र आव २०७९/८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ।
चार वर्षमा अङ्गभङ्ग भएका ५४ जनामध्ये चालु आवको पुससम्ममा १० जना, गत आव २०८०/०८१ मा ३३ जना र आव २०७९/०८० मा ११ जना छन्।
गत आव २०८०/०८१ मा झापाबाट छ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। सोही आव २०८०/०८१ मा कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
मेचीनगरमा चालु आवमा ३१ वटा अभिमुखीकरण, वित्तीय साक्षरतालगायतका कार्यक्रम गरिएको छ। यस अवधिमा नगरपालिकास्थित वैदेशिक रोजगारीबाट फर्केका र उनीहरूका परिवार गरी एक हजार ६४६ जनाले सो परियोजनाको विभिन्न सेवा लिएको जनाइएको छ। रासस
प्रकाशित: २ चैत्र २०८१ ०७:०३ शनिबार