१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा समानुपातिक बजेट र विकास निर्माणको माग

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, विपद् जोखिम, सूचना प्रविधि तथा सामाजिक समस्यालगायत विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले दोलखामा पर्यटकीय गतिविधि न्यून भएको, ऐतिहासिक जिरी पदमार्ग ओझेलमा परेको तथा दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत सेवा प्राप्त गर्न कठिनाइ भइरहेको बताइन्। सोही पार्टीका प्रकाश पाठकले सन्तान प्राप्त गर्न नसकेका दम्पतीका लागि सहज र सुलभ उपचार व्यवस्था आवश्यक रहेको बताए।   

मधुकुमार चौलागाईंले काभ्रे क्षेत्र नं १ का सडक कालोपत्रे हुन नसकेको विषय उठाउँदै बजेट अभावले विकास प्रभावित भएको बताए। बुद्धिप्रसाद पन्तले वीरगञ्जले राज्यलाई ठूलो कर योगदान गरेको भन्दै विकास निर्माणमा पछि परेको रङ्गशाला र नारायणी प्रादेशिक अस्पतालको पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरे।  

नरेन्द्र साह कलवारले भूमिहीन सुकुमवासीले अझै लालपुर्जा नपाएको गुनासो गरे भने प्रमोदकुमार महतोले वन कार्यालयका प्रतिनिधिले आधिकारिक निर्णयविनै बस्तीमा पुगेर घर भत्काउने चेतावनी दिएको भन्दै चिन्ता व्यक्त गरे। सुजाता तामाङले तापक्रम वृद्धि र हिमाल पग्लिने क्रम बढ्दै जाँदा विपद्को जोखिम बढेको बताइन्।  

त्यसैगरी जनकसिंह धामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रभावित नागरिक आफ्नै देशमा शरणार्थी जस्तै बन्नुपरेको बताए। बोधनारायण श्रेष्ठले धादिङका केही पालिकालाई समेटेर बृहत् पर्यटकीय क्षेत्र विकास गर्न बजेट विनियोजन गर्न माग गरे। ज्ञानेन्द्रसिंह महताले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा अत्यधिक सुरक्षाकर्मी परिचालन नगर्न सुझाव दिए।  

प्रशान्त उप्रेतीले मकवानपुरका मध्यवर्ती क्षेत्रका किसान मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित भएको बताए।  बदनकुमार भण्डारीले संविधानले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरे पनि निजी विद्यालयले मनपरी शुल्क लिँदा सरकार मौन बसेको टिप्पणी गरे। विधुषी राणाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिइन् भने विश्वराज पोखरेलले ‘भिजिट नेपाल २०८५’ सफल बनाउन ओखलढुङ्गाको पोकली झरनालगायत पर्यटकीय क्षेत्रको विकास गर्न आग्रह गरे।  

नेपाली कांग्रेस की सीता थपलियाले निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना र निर्माण उद्योग दुवै प्रभावित भएको बताइन्। गीताकुमारी सेन्दाङले महिलाहरू अझै दाइजो र हिंसाको सिकार भइरहेकामा चिन्ता व्यक्त गरिन्।  

नेकपा (एमाले) का मोहम्मद इस्तियाक राईले सीमावर्ती क्षेत्रमा दैनिक उपभोगका सामग्री ल्याउने सर्वसाधारणलाई भन्सार नाकामा रोक्नु अमानवीय भएको टिप्पणी गरे। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलालले स्थानीय तहलाई हस्तान्तरण गरिएको वित्तीय समानीकरण अनुदान कटौती नगर्न संघीय सरकारसँग माग गरे। 

श्रम संस्कृति पार्टी का आरेन राईले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए। ध्रुवराज राईले बाँदर आतंकका कारण किसान समस्यामा परेकाले यसको समाधानबारे राष्ट्रिय बहस आवश्यक रहेको बताए।  

राष्ट्रिय प्रजातन्त्र पार्टी की खुश्बु ओलीले संविधान संशोधन कार्यदलले आफ्नो पार्टीले उठाउँदै आएको सनातन हिन्दू राष्ट्रलगायतका मुद्दालाई समेट्नुपर्ने बताइन्। स्वतन्त्र सांसद महावीर पुन ले दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।  

प्रकाशित: १२ जेष्ठ २०८३ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App