३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

सुदूरको पोस्टमा गोलको वर्षा

बल अघि बढाउँदै पुलिसकी दीपा न्यौपाने। तस्बिर : एन्फा

एन्फा महिला लिगअन्तर्गत पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग ४-० को हार बेहोरेको संकटाले शुक्रबार चन्द्रपुर नगरपालिकासँग अंक बाँड्दा अर्को खेलमा भने विभागीय टोली नेपाल पुलिस क्लबले गोलको वर्षा गरेको छ।

गत वैशाखमा सुर्खेतमा भएको महिला लिग छनोटमा सानदार प्रदर्शन गरे पनि काठमाडौंमा कमजोर टोली उतारेको सुदूरपश्चिम प्रदेशविरुद्ध पुलिसले आइतबार नौ गोल गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा पुलिसले अर्को विभागीय टोली एपिएफसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

तीन दिनपछि त्यो चोटको पीडा भुलेर मैदान उत्रेको पुलिस लिगमा पुनरागमन गर्न सफल भएको छ। जारी लिगमा नौ खेल सकिँदा पुलिसले सबैभन्दा ठूलो जित हासिल गरेको हो। यसअघि लिगमा डेब्यु गरेको बागमती युथ क्लबसँग सुदूरपश्चिमले ५-१ को हार बेहोरेको थियो। त्यो नै लिगमा सबैभन्दा ठूलो हार थियो।

पुलिसलाई पहिलो जित दिलाउन कप्तान निरु थापा र दीपा न्यौपानेले ह्याट्रिक पूरा गरे। पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले तीन गोल थपे। नवौं मिनेटमै निरुको गोलमार्फत पुलिसले सुरुआती अग्रता लिएको थियो। ३०औं मिनेटमा पूजाले अग्रता दोब्बर बनाइन्। त्यसपछि दीपाले अर्को गोल थप्दै पुलिसलाई पहिलो हाफमै ३-० को फराकिलो अग्रता दिलाएकी थिइन्।

दोस्रो हाफमा पुलिस झनै आक्रामक देखियो। दीपाले ४६ र ६० मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा निरुले पनि त्यो अवसर चुकाइनन्। उनले ६९ र ७८औं मिनेटमा गोल थपेकी थिइन्। निरुले ह्याट्रिक पूरा गर्नुअघि घिमकुमारीले पनि पुलिसका लागि गोल थपिन्। यस्तै, अनुष्काले पनि इन्जुरी समयमा गोल गर्दै पुलिसको जित सहज बनाइन्।

जितसँगै पुलिसले दुई खेलबाट चार अंक जोडेको छ। चन्द्रपुले दुई अंक पुर्‍याउँदा संकटाको खाता पनि खुलेको छ। सुदूरपश्चिम भने अंकविहीन छ। पुलिसले तेस्रो चरणमा बागमतीसँग प्रतिस्पर्धा गर्ने छ। बागमतीले बिहीबार भएको दोस्रो खेलमा कोसीसँग २-१ को हार बेहोरेको थियो।

संकटाले वालिङ नगरपालिका, सुदूरपश्चिमले आर्मीसँग खेल्दा चन्द्रपुरले भने एपिएफको चुनौती पन्छाउने प्रयास गर्नेछ। दोस्रो चरणको अन्तिम खेलमा शनिबार विभागीय डर्बीमा एपिएफ र आर्मी भिड्नेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने तालिका बनाएको थियो। तर, वर्षाका कारण अझै मैदान नसुकेपछि यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स नै सारिएको छ। खेल दिउँसो १ बजे हुने छ।

प्रकाशित: २२ भाद्र २०८१ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App