२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

चर्च बोइजमा रोहन

एफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण छनोटमा डेब्यु गर्न लागेको चर्च बोइज युनाइटेडले घरेलु फुटबलका अर्का स्टार मिडफिल्डर रोहन कार्कीलाई पनि भित्र्याएको छ। चर्च बोइजले यही प्रतियोगिताका लागि भित्र्याएका उनी छैटौं नयाँ खेलाडी हुन्।

यसअघि चर्च बोइजले मनाङ मस्र्याङ्दीको कप्तानी सम्हालेका गोलरक्षक दीप कार्की, थ्री स्टारका मिडिफिल्डर लाकेन लिम्बू, संकटाका विंगर आयुष घलान, संकटाकै गोलरक्षक टेकेन्द्र थापा र विभागीय टोली एपिएफका डिफेन्डर सनिश श्रेष्ठसँग नयाँ सम्झौता गरेको थियो।

रोहनले आफ्नो कप्तानीमा रारा रेन्जर्स (आरसी ३२)लाई ‘बी’ डिभिजनमा उकालेका थिए। उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाइसकेका छन्। यद्यपि, डेब्यु भने गर्न पाएका छैनन्।

उनलाई यही प्रतियोगिताका लागि नयाँ सम्झौता गर्दै क्लबमा भित्र्याएकोअध्यक्ष रुवेन राईले जानकारी दिए। २१ वर्षीय रोहनसँग आरसी ३२ बाहेक धनगढी एफसीबाट नेपाल सुपर लिग खेलेको अनुभव छ।

गत सिजन उनी आबद्ध रहेको धनगढी नेपाल सुपर लिगको फाइनलमा ललितपुर सिटी एफसीसँग ३–२ गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो।

गत वर्षको लिगविजेता चर्च बोइजसँग एफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने मौका पाएको थियो।

पहिलो राउन्डमा भुटानको पारो एफसीलाई घरेलु मैदानमा ३–२ गोलअन्तरले पाखा लगाउँदै मच्छिन्द्र अर्को राउन्डमा पुगेको थियो । दोस्रो राउन्डमा भारतको मोहन बगानसँग ३–१ गोलअन्तरको पराजित हुँदै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको थियो।

दशरथ रंगशालामा साउन २९ मा भुटानको पारो एफसीविरुद्ध हुने खेलका लागि चर्च बोइजले राष्ट्रिय टोलीका वर्तमान सर्वाधिक १३ गोलकर्ता तथा फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट र डिफेन्डर तथा कप्तान अनन्त तामाङसँग सम्झौता नवीकरण गरिसकेको छ। उनीहरूले क्लबलाई डेब्यु सिजनमै उपाधि दिलाएका थिए।

टोलीको प्रशिक्षकमा बालगोपाल महर्जनलाई निरन्तरता दिइएको छ। सहायक प्रशिक्षकमा रमेश दंगाल छन्। यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ।

मुख्य प्रतियोगिताको खेल कात्तिक १० र १७ गते ‘होम एन्ड अवे’ का आधारमा हुनेछ। प्रतियोगितामा छनोट भए चर्च बोइजले न्यूनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ।

प्रकाशित: १० श्रावण २०८१ ०७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App