२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

मनाङ शीर्ष स्थानमा

चिर परिचित प्रतिद्वन्दी मनाङ मस्र्याङ्दी क्लबले लगातार तेस्रो जित आत्मसात् गर्दै एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिँदा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले भने त्रिभुवन आर्मी क्लबसँग मंगलबार अंक बाँडेको छ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै सुजन डंगोलले गोल गरेपछि मनाङले जावलाखेल युथ क्लबको कठिन चुनौती १–० ले पार गर्‍यो। अर्को खेलमा भने पुलिसले आर्मीसँग गोलरहित बराबरी खेल्दै एक अंक बाँड्यो। यससँगै तीन खेलबाट नौ अंक जोड्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ। 

उसले दोस्रो चरणसम्म शीर्ष स्थानमा रहेको पुलिसलाई दुई अंकले पछि पारेको हो। दोस्रो स्थानमा झरेको पुलिसको समान खेलबाट सात अंक छ। जावलाखेलको दुई र आर्मीको एक अंक मात्रै छ। यी दुई टोली क्रमशः नवौ र १०औं स्थानमा छन्।

४६औं मिनेटमा जावलाखेलका समीर दर्लामीले सागर मगरलाई तानेपछि शुक्रराज घलेले मनाङलाई फ्रिकिक दिएका थिए। मध्यभागभन्दा केही माथिबाट पाएको उक्त फ्रिकिकलाई सागरले जावलाखेलको पोस्टमा सीधै प्रहार गरेका थिए। पेनाल्टी बक्सभित्र बाउन्स भएर आएको बललाई गोलरक्षक सन्देश घलानले पन्च गर्ने प्रयास गरे पनि सफल नहुँदा रनिङमा सुजनले टच गर्दै गोल गरे। 

उनी दोस्रो हाफको सुरुआतमै समन हटुवालको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल १–० मै सकियो। मनाङले तीनवटै खेल यही स्कोरमा जितेको हो । यसअघि आर्मी र संकटा क्लबलाई मनाङले पराजित गरेको थियो। जावलाखेलको भने यो पहिलो हार हो । यसअघि जावलाखेलले विभागीय टोली एपिएफसँग १–१ र मच्छिन्द्र फुटबल क्लबसँग२–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। 

अर्को खेलमा शीर्ष स्थानमै टिक्ने योजनामा पुलिसले अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। पुलिसको पटकपटकको आक्रमणमा आर्मीका गोलरक्षक रामबहादुर बोहरा बाधक बने । यससँगै आर्मी तेस्रो खेलमा अंकको खाता खोल्न सफल भएको छ। 

पहिलो खेलमा आर्मी मनाङसँग १–० र दोस्रो खेलमा मच्छिन्द्रसँग सोही स्कोरमा पराजित भएको थियो । पुलिसले भने पहिलो खेलमा थ्री स्टारमाथि ७–२ को फराकिलो जित हासिल गरेको थियो। 

प्रकाशित: ९ श्रावण २०८१ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App