२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

दबाबबीच इजरायली खेलाडी फ्रान्समा

प्यालेस्टाइन टोलीले गाजामा युद्धका कारण इजरायली खेलाडीलाई पेरिस ओलम्पिकमा प्रतिबन्ध लगाउन अनुरोध गरे पनि उनीहरू सोमबार राति पेरिस उडेका छन्।

३३औं ग्रीष्मकालीन ओलम्पिकको शुक्रबार फ्रान्सको राजधानी पेरिसमा कडा सुरक्षा घेराबीच उद्घाटन हुँदै छ। पेरिसमा सुरक्षा चिन्ता, गाजामा भएको मानिसको मृत्यु र मानवीय संकटका बारेमा अन्तर्राष्ट्रिय आक्रोशका बीच यस पटक ओलम्पिक सुरु हुन लागेको हो। खेलाडीहरूलाई ओलम्पिक खेल्नबाट रोक्ने प्रयास पनि भए। प्यालेस्टाइन ओलम्पिक कमिटीले सोमबार मात्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रमुख थोमस बाचलाई पत्र लेख्दै इजरायललाई प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

घेरा बनाएर राखेका स्थानमा इजरायलले प्यालेस्टिनी खेलाडीमाथि आक्रमण गरेको पनि प्यालेस्टाइन ओलम्पिक कमिटीको आरोप छ। ‘प्यालेस्टिनी खेलाडीमाथि गाजामा आक्रमण भएको र द्वन्द्वका कारण धेरै खेलाडीहरू पनि पीडित बनाइएको छ,’ पत्रमा उल्लेख छ। झन्डै चार सय प्यालेस्टिनी खेलाडीहरू इजरायलको आक्रमणमा परेर मृत्यु भएको उनीहरूको आरोप छ। इजरायलले खेलकुद संरचनामा नै बम खसाल्दै ध्वस्त पारेको र जसले प्यालेस्टेनी खेलकुदमा नै ठूलो असर परेको प्यालेस्टाइन ओलम्पिक कमिटीको आरोप छ।

युएनले प्यालेस्टाइनको क्षेत्रमा इजरायलले गरेको कब्जा पनि अवैध रहेको भनेको कुरा प्यालेस्टाइन ओलम्पिक कमिटीले उल्लेख गरेको छ। इजरायल ओलम्पिक कमिटीकी अध्यक्ष याइल अरादले ८८ खेलाडीसहित इजरायली टोली ओलम्पिकका लागि फ्रान्स उड्नुलाई ‘विजय’ को संज्ञा दिएकी छन्। ‘हाम्रो सबैभन्दा ठूलो जित नै आज हामी यहाँ छौं र पेरिस ओलम्पिकमा सहभागी हुँदै छौं। अन्तिमसम्म पनि हामीले हार मानेनौं। गत अक्टोबरदेखि नै हामीले सयौं प्रतिस्पर्धाहरू गर्दै आएका छौं,’ उनले बेन गुरियन एयरपोर्टमा पत्रकारसँग प्रतिक्रिया दिएकी थिइन्। दक्षिण इजरायलमा हमासको नेतृत्वमा सुरु भएको अप्रत्याशित हमलाको दिन उल्लेख गर्दै त्यहाँबाट नै युद्ध सुरु भएको उनको भनाइ थियो।

त्यो घटनाबारे विश्वजगत्ले नै निन्दा गरेको इजरायल ओलम्पिक कमिटीकी अध्यक्ष अरादले बताइन्। ओलम्पिक आयोजकले इजरायली ओलम्पिक प्रतिनिधि मण्डललाई पनि विशेष सुरक्षा प्रदान गर्ने उल्लेख गरेको छ। ‘यो ओलम्पिक गर्न धेरै चुनौती छन् भन्ने बारे लुकेका कुरा नै होइनन्। हामीले धेरै चुनौती सामना गरिरहेका छौं। आयोजकले राम्रो सुरक्षा दिनेछ भन्नेमा हामी विश्वस्त छौं,’ अरादले भनेकी छन्।

पत्रकार सम्मेलनमा इजरायलकी जुडो खेलाडी इनबर लानिरले युद्धको विवादमा इजरायली खेलाडी पनि परेको बताइन्। अहिले आफूहरूले बानी नै परिसकेको उनको भनाइ छ। ‘मेरो जिम्मेवारी खेलकुदबाट सबैलाई एक ठाउँमा जोड्नु हो।

यो भनेको राजनीति, युद्ध र घृणाभन्दा माथि रहेर गर्नुपर्ने कुरा हो। त्यसैले म सुरक्षित छु र देशको प्रतिनिधित्व गर्न उत्साहित पनि छु,’ उनले भनिन् । फ्रान्सका एक सांसद थोमस पार्टेसले प्रदर्शनका दौरान यसै हप्ता मात्र प्यालेस्टाइनलाई समर्थन गर्दै इजरायली खेलाडीलाई स्वागत नगर्ने भन्दै राजनीतिक रूपमा विवाद सिर्जना गरेका छन्। तर, फ्रान्सका परराष्ट्रमन्त्री स्टेफन सेजुनले भने सोमबार इजरायली खेलाडीलाई फ्रान्समा स्वागत गरे।

इजरायलका परराष्ट्रमन्त्री इजरेल काट्सले पनि फ्रान्सका आफ्ना समकक्षीले इजरायली खेलाडीलाई स्वागत गरेको सन्देश सामाजिक सञ्जालमा राख्दै धन्यवाद व्यक्त गरेका थिए। सो सन्देशमा इजरायली खेलाडी फ्रान्समा सुरक्षित रहने पनि उल्लेख गरिएको छ। फ्रान्समा रहेर प्यालेस्टाइनलाई समर्थन गर्दै आएका विभिन्न क्लब र समूहले भने पेरिस ओलम्पिकमा इजरायली अफिसियललाई मात्र रोक लगाउन आइओसीले अनुरोध गर्दै आएका छन्। पेरिस ओलम्पिक आगामी जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदै छ।

पेरिस ओलम्पिकमा इजरायली खेलाडी पदकका दाबेदार पनि हुन्। तेक्वान्दोका खेलाडी अभिसाग सेमबर्ग (सन् २०२० को ओलम्पिकमा कांस्य विजेता), जिम्न्यास्टिकका एर्टम डोलगोप्यात (सन् २०२० को ओलम्पिकमा स्वर्ण विजेता) र जुडोकी इनबर लानिर (सन् २०२३ को विश्व च्याम्पियन) पदकका दाबेदारी हुन्। प्यालेस्टाइनका भने आठ खेलाडीले मात्र पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन्। 

प्रकाशित: ९ श्रावण २०८१ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App