२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

भारतसँग ८२ रनले हार्‍यो नेपाल

एसीसी महिला एसिया कप अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ। पराजयसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर सीता रानामगरले २२ बलको सामना गर्दै १८ रन बनाइन्। यस क्रममा उनले ४ चौका प्रहार गरिन्।

टिमका लागि विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन बनाइन्। यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन्।

नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन्। राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए। रेनुका सिंहले एक विकेट हात पारिन्।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो।

भारतका लागि ओपनर दुवैले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। ओपनर शेफाली वर्माले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ८१ रन बनाइन्। उनले मात्र ४८ बलमा टिमका लागि उक्त सङ्ख्याको रन जोडेकी थिइन्। यस क्रममा उनले एक छक्का र १२ चौका प्रहार गरिन्।

यसैगरी अर्की ओपनर दयालन हेमलताले ४२ बलमा ४७ रन बनाइन्। उनले एक छक्का ४ चौका प्रहार गरिन्। सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन्।

नेपालका लागि सीता राना मगरले दुई विकेट लिइन्। उनले ४ ओभरमा २५ रन खर्चिइन्। यसैगरी कविता जोशीले एक विकेट लिइन्। उनले ४ ओभरमा ३६ रन खर्चिइन्।

समूह ‘ए’ को पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेकाे थियाे। पनि त्यसपछिका दुई खेलमा लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो। 

यो समूहबाट भारत विजेता र पाकिस्तान उपविजेताको रुपमा अन्तिम चारमा पुगेका छन्।

प्रकाशित: ८ श्रावण २०८१ २२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App